
काठमाडौँका विभिन्न क्षेत्रमा आपराधिक घटनामा संलग्न तीन जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँको मित्रनगरबाट दुर्लभ वन्यजन्तु सालकको खबटासहित एकजनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा धादिङको छत्रे देउराली घर भएका सुवास तामाङ भन्ने सुजन तामाङ रहेको प्रहरीले जनाएको छ ।
सालकको खबटा र अस्थिपञ्जर बेचबिखन भइरहेको छ भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले तीन फिट छ इञ्च लम्बाइ भएको दुई किलो ३०० ग्राम तौलको सालकको खबटासहित उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान तथा कारवाहीका लागि उनलाई डिभिजन वन कार्यालय काठमाडौँ पठाइएको छ ।
यसैगरी काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ जगडोल डाँडाबाट लागुऔषधसहित प्रहरीले अर्का एक जनालाई पक्राउ गरेको छ । लागुऔषध बिक्री वितरण भइरहेको सूचनाका आधारमा बौद्धबाट खटिएको प्रहरी टोलीले सिन्धुपाल्चोकका हरि रामदामलाई पक्राउ गरेको हो । उनले चलाएको मोटरसाइकल खानतलासी गर्दा झण्डै एक किलो बराबरको पोलाइन लागुऔषध बरामद गरिएको परिसरले जनाएको छ ।
यस्तै आजै व्यापारीलाई धम्की दिई पैसा माग गर्ने अर्का एक व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको गोठाटार बस्ने २२ वर्षीय उत्तम रिमाल रहेका छन् ।