३० जेठ २०८३, शनिबार

पूर्वजनप्रतिनिधि नेवाःलाई घरमै पुगेर पुरस्कारसहित सम्मान

पूर्वजनप्रतिनिधि नेवाःलाई घरमै पुगेर पुरस्कारसहित सम्मान

बुधबार बिहानको झुल्के घाँमसँगै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य सहितको टोली चन्द्रानन्द नेवाःको निजी निवास म्हय्पिस्थित निर्मल लामा मार्ग पुग्यो । 

प्रमुख शाक्यसहितको टोली नेवाःको निजी निवासमा पुग्दा ८८ वर्षीय उनी बरण्डामा बेतको कुर्सीमा बसेर टोलाइरहेका थिए ।

साढे दुई तले घरको गेटमै पुगेर प्रमुख शाक्यले नेवार भाषामै  ‘ज्वजलपा’ अर्थात नमस्कार गर्दा उनले पनि नमस्कार फर्काए । 

सामान्य हिँडडुलका लागिसमेत लौरोको सहारा लिनुपर्ने नेवाः अहिले नियमित रुपमा उच्च रक्तचापको औषधि सेवन गरिरहेका छन् । 

धेरैपटक निर्वाचित जनप्रतिनिधिका रूपमा उनले महानगरलाई गरेको सेवाको कदर गर्दै काठमाडौं महानगरपालिकाले यसै वर्ष महानगर दिवसका अवसरमा स्थापना गरेको ‘स्व. जनकमान श्रेष्ठ स्वशासन पुरस्कार’ उनलाई प्रदान गरिको छ ।

स्वास्थ्यस्थितिका कारण पुरस्कार ग्रहण गर्न आउन नसकेपछि महानगरका मेयरसहितको टोलीले घरमै पुगेर एकलाख नगदसहित सम्मानपत्र हस्तान्तरण गरेको छ । महानगरप्रुमख शाक्यसँगै प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडाध्यक्ष  न्हुच्छेकाजी महर्जन उनको निजी निवासमै पुगेका थिए । 

कुनै समय किलागलमा निर्मल लामा लगायतका नेतालाई सेल्टर दिएका नेवाः अहिले निर्मल लामा मार्गकै साढे दुई तले निजी निवासमा बुढ्यौली जीवन व्यतित गरिरहेका छन् । 

ऊर्जाशील उमेरको ४० वर्ष जनप्रतिनिधिको हैसियतमा सेवा गरेका नेवाः पुरस्कारसहितले सम्मान गर्न काठमाडौँ महानगरका प्रमुख शाक्य नै आफ्नो निवासमा टुप्लुक्क आइपुग्दा खुशी भएका थिए । ्

प्रमुख शाक्य र प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले नगदसहित सम्मानपत्र प्रदान गरेपछि हाँस्दै उनले भने, ‘मेरा लागि यो गौरवको क्षण हो ।’ 

प्रमुख शाक्यले पनि उनीसँग लय मिलाउँदै नेवाःलाई गुरु र अविभावकको संज्ञा दिए । इतिहासलाई सम्मान गर्न पाउँदा खुशी लागेको भन्दै शाक्यले उनीबाट अझै धेरै नीतिगत कुरा सिक्न बाँकी रहेको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्