
जिल्ला प्रहरी कार्यालय चितवनले अवैध औषधिसहित ८ जनालाई पक्राउ गरेको छ ।
कार्यालयले बुधवार पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा कालिका नगरपालिका–४ का २८ वर्षीय राजकुमार महतो, सोही नगरपालिका–३ का ३१ वर्षीय हरिशरण चौधरी, माडी नगरपालिका–३ का २२ वर्षीय बालकृष्ण महतो र मिलन महतो, मकवानपुरगढी गाउँपालिका–८ का २५ वर्षीय सुरज गौतम, सोही गाउँपालिका–३ का २३ वर्षीय प्रकाश दाहाल, हेटौंडा उपमहानगरपालिका–५ का २५ वर्षीय उज्वल पोखरेल र २३ का २३ वर्षीय विपिन सापकोटा रहेका छन् ।
माडी नगरपालिका–९ सोमेश्वरमा ठोरीबाट माडीतर्फ ल्याउँदै गरिएको ना४ख ४४२५ नम्बरको गाडीबाट अवैध औषधिसहित उनीहरूलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङका अनुसार बरामद भएको अैषधिको मूल्य अनुमानित २१ लाख १० हजार ५३२ रुपैयाँ छ । माडीमा नै बेवारिसे अवस्थामा ९ लाख ९५ हजार १०० बराबरको औषधि बरामद भएको छ ।
बगही खोलाको किनारको झाडीमा बेवारिसे अवस्थामा औषधि भेटिएको गुरुङले जानकारी दिए ।
औषधि व्यवस्था विभागबाट बिक्री वितरणका लागि अनुमति नपाएका औषधिहरू लुकाएर ल्याउने गरेको पाइएको उनले बताए । बाथरोग, क्याल्सियम कमी भएका र पेटसम्बन्धी समस्या भएका बिरामीले प्रयोग गर्न सक्ने ती औषधि नेटवर्किङ व्यवसायको प्रयोजनका लागि ल्याइएको हुन सक्ने उनले जानकारी दिए ।
गैरकानूनीरूपमा औषधि नेपाल भित्र्याउने उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि औषधि व्यवस्था विभागमा पठाइने गुरुङले बताए । अवैध कारोबारका लागि माडी–ठोरी नाका प्रयोग हुँदै आएको भन्ने सूचनाका आधारमा चेकजाँचका क्रममा उनीहरूलाई मंगलवार बिहान पक्राउ गरिएको हो ।