३२ असार २०८३, बिहीबार

अमेरिकाको पछि लागेर चीनलाई चिढ्याउँदा अस्ट्रेलियामा आर्थिक संकट

पुस २, २०७७
अमेरिकाको पछि लागेर चीनलाई चिढ्याउँदा अस्ट्रेलियामा आर्थिक संकट

अस्ट्रेलियाको दोहोरो चरित्र र उत्तेजक गतिविधिबाट आजित भएको चीनले उसको अर्थतन्त्रमा प्रहार गर्ने निर्णय लिएको छ । 

चीनले अस्ट्रेलियाबाट कोइलाको आयात घटाउने योजना बनाएको छ । यससँगै बेइजिङले वाइन, जौ, माछा र काठ जस्ता अन्य प्रमुख वस्तुको कारोबार पनि रोकेको छ । 

अस्ट्रेलियाको सबभन्दा ठूलो बजारका रूपमा चीनसँग व्यापक प्रभाव पार्ने क्षमता छ र उसले त्यस क्षमतालाई सबै क्षेत्रमा उपयोग गरिरहेको देखिन्छ । चीनतर्फ सामान निर्यात गरेर क्यानबेराले वार्षिक रूपमा सयौं अर्ब डलर कमाउने गरेको छ । तर कोरोनाभाइरस महामारी, डढेलो र चीनसँग व्यापार युद्धका कारण अस्ट्रेलियाको अर्थतन्त्र ३० वर्षमा पहिलोपटक मन्दीको स्थितिमा पुगेको छ । 

प्रधानमन्त्री स्टक मोरिसनले अस्ट्रेलियाको अर्थतन्त्रमा परेको असरमा गहिरो चिन्ता व्यक्त गरेका छन् । चीनतर्फ कोइला निर्यातमा प्रतिबन्ध लाग्दा यसले सबैलाई घाटा लाग्ने मोरिसनले बताए । 

तर त्यो पूर्ण सत्य हैन । चीनले इन्डोनेसियासँग धेरै वर्षसम्मका लागि कोइला आपूर्तिको सम्झौता गर्न लागेको छ । त्यसले अस्ट्रेलियालाई असान्दर्भिक बनाइदिएको छ । अन्य आपूर्ति शृंखलाको हकमा पनि त्यही कुरा सही हो ।

विश्वव्यापी खरिद बजारमा चीन सबभन्दा ठूलो खरिदकर्ता हो । व्यापारयुद्धमा अस्ट्रेलिया मात्र हरुवा ठहर्नेछ । 

राष्ट्रपति सी चिनफिङको नेतृत्वमा बेइजिङ विविधीकरण रणनीतितर्फ गइरहेको छ । एकल आपूर्तिकर्ताप्रति चीनको निर्भरता घटाउने अनि विशेषगरी पश्चिमी खेमाका अर्थतन्त्रमा निर्भरता कम गर्दै जाने यसको एक प्रमुख उद्देश्य हो । 

अस्ट्रेलियाका लागि यो नराम्रो खबर हो किनकि विगत एक दशकमा उसको अर्थतन्त्र चीनतर्फको निर्यातमा बढी निर्भर रहँदै आएको छ । 

अस्ट्रेलियाका सम्बन्धमा चीनले बनाएको रणनीतिमा प्रतिशोध मिसिएको पक्का हो । तर उनीहरूलाई किन दोष दिनु ? बेइजिङले क्यानबेरालाई लगातार राजनीतिक उत्तेजना नचर्काउन चेतावनी दिँदै आएको छ । 

अस्ट्रेलिया वाशिङटनले जे भन्यो, त्यो खुरुखुरु मान्दै चीनलाई सबभन्दा ठूलो वैश्विक जोखिम ठान्छ । बेइजिङले क्यानबेरालाई शीतयुद्धकालीन मानसिकता अपनाएको भन्दै निन्दा गरेको छ र पश्चिमको जल्लादका रूपमा काम गरेको भनिरहेको छ । 

अस्ट्रेलियाका स्थानीय सरकार र विश्वविद्यालयले चीनसँग गरेको कारोबार तथा लगानी साझेदारीलाई अन्त्य गराउने व्यापक अधिकार क्यानबेरा आफैंले राख्ने गरी नयाँ कानून बनाउन लागेको छ । यसले गर्दा अस्ट्रेलियामा रहेका चिनियाँ विद्यार्थीहरूमाथिको कठोर नियन्त्रण कायम भएको छ अनि त्यहाँका राजनीतिकर्मी र सञ्चारमाध्यमले चिनियाँहरूविरुद्ध जातिवादी शत्रुताका लागि भड्काइरहेका छन् । 

यो वर्ष कोरोनाभाइरस महामारी शुरू भएपछि अस्ट्रेलियाका प्रधानमन्त्री मोरिसनले ट्रम्प प्रशासनको पछि लागेर चिनियाँ अधिकारीहरूबाट लापरवाही भएको भनी बेइजिङलाई चिढ्यायो । गत अप्रिल महिनामा मोरिसनले महामारीको उत्पत्तिका विषयमा अन्तर्राष्ट्रिय अनुसन्धान गर्नुपर्ने आह्वान गरे । बेइजिङले रिसाउँदै त्यसलाई अस्वीकार गरिदियो । मोरिसनले उत्तेजक हर्कत गरिरहेमा द्विपक्षीय सम्बन्ध र व्यापार साझेदारीमा क्षति पुग्ने बेइजिङले चेतावनी दियो । 

दक्षिण चीन सागरमा अमेरिकाको सैन्य गतिविधिसँग जोडिने इच्छा पनि अस्ट्रेलियाले देखाएको छ । तर चीनसँगको सम्बन्ध बिग्रन्छ भनी क्यानबेरा धेरै अघि बढ्न पनि चाहेको छैन । आफूलाई वाशिङटन र बेइजिङबीचको विकल्प छान्न बाध्य बनाइनु नहुने भनी अघिल्लो महिनामा लन्डनमा आयोजित एक सम्मेलनमा मोरिसनले बताएका थिए । तर उनको सरकार वाशिङटनको पक्षमा गइसकेको छ । 

त्यसैले बेइजिङले आर्थिक सम्बन्ध कटाउन थालेको बुझ्न सकिन्छ । चीनको दृष्टिकोणबाट हेर्दा विश्वमा व्यापारका अन्य अवसरहरू विद्यमान रहँदा कसले अपमान सहेर बसिरहन्छ ?

चीनले आयातका लागि सजिलै स्रोत परिवर्तन गर्न सक्छ । इन्डोनेसियाबाट कोइला, दक्षिण अफ्रिकाबाट वाइन र रुसबाट फलाम आयात यो वर्ष बढेको छ । 

बरू अस्ट्रेलियाको राजनीतिक वृत्तको घमण्डी पारा बुझिनसक्नुछ । लिबरल पार्टीको नेतृत्वमा रहेको सत्तारूढ गठबन्धनका साथै विपक्षी लेबर पार्टीले अमेरिकी प्रोपागाण्डालाई दोहोर्‍याउँदै चीनको अपमान गरिरहने अनि त्यसको कुनै परिणाम नआउने भनी सोच्नु आफैंमा बहुलट्ठीपन हो । 

यो युरोपेली मुलुकहरूले अमेरिकाको दास बनेर रुसप्रति शत्रुता राखे जस्तै हो । युरोपेली संघको रुसविरोधी प्रतिबन्ध अमेरिकी प्रतिबन्धकै अन्धानुकरण हो र यो अनेकौं शंकास्पद दाबीमा आधारित छ । तर रुससँग व्यापार गर्न नपाएर युरोपेली अर्थतन्त्रलाई वर्षको २१ अर्ब युरो घाटा लागेको जर्मनीको चेम्बर अफ कमर्स यान्ड इन्डस्ट्रीको आँकडाले देखाएको छ । 

रुसका सन्दर्भमा युरोपेलीहरूले आफ्नै गोडामा बञ्चरो हाने जस्तै चीनसँगको आर्थिक हितलाई अस्ट्रेलिया आफैंले विनाश गरिरहेको छ । अमेरिकाले शीतयुद्धकालीन षड्यन्त्र गरिरहेकोमा युरोप र अस्ट्रेलियाले त्यसको अन्धानुकरण गर्दा भारी मूल्य चुकाउनुपरेको छ । 
 

आरटीमा प्रकाशित फिनियन कनिङघमको विश्लेषण
 

salt training

कमेन्ट गर्नुहोस्