
हिउँ चितुवाले मानवबस्ती छेउमा आएर घरपालुवा पशु खाइदिएर हैरान भएका स्थानीयले आधुनिक सुरक्षित गोठ (प्रिजेटर प्रुफ कोरल) बनाउन थालेका छन् । यस्तो गोठ वरिपरि पर्खाल लगाएर बनाइएको हुन्छ र छाना बलियो तारजाली (नेट) ले छोपिन्छ । चराइसकेपछि चौंरी, याक, भेडा, च्याङ्ग्रालगायतका पशुलाई गोठ–खोरमा हुलिन्छ । ढोका पनि बलियो बनाइएको हुन्छ ।
हिउँ चितुवाको मुख्य आहार नाउर, झारल, कस्तूरी मृगलगायत हुन् । मानवबस्ती छेउमै आएर याक, चौंरी र घोडाका बच्चा तथा भेडा, च्याङ्ग्रालाई पनि हिउँ चितुवाले आहार बनाउँछ । उपल्लो डोल्पाका भिजेर, साल्दाङ, फोक्सुन्डो, धो तरापलगायत गाउँका किसान हिउँ चितुवाले चौंरी, याक र भेडाजस्ता घरपालुवा जनावर सखाप पारिदिने समस्याबाट आजित छन् । ‘मुख्य आहार नाउर र झारल भए पनि ३० देखि ४० प्रतिशत आहार गाई, चौंरी, याक, भेडा, च्याङ्ग्रा, फ्याउ मुसालगायत हुन्,’ त्रिभुवन विश्वविद्यालयबाट हिउँ चितुवा र त्यसका आहार प्रजातिबारे विद्यावारिधि गरिरहेका कमल थापाले कान्तिपुरसित भने, ‘त्यसैले आहारको खोजीमा हिउँ चितुवा मानिसको बस्ती छेउमा आइरहन्छ ।’
हिउँ चितुवा पाइने सबै क्षेत्रमा झारल र नाउरको उपस्थिति छैन । कहीं झारल मात्र छन् भने कहीं नाउर मात्र । शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज फैलिएको डोल्पाको क्षेत्रमा नाउर मात्र छन्, त्यही निकुञ्ज रहेको मुगुतिरको डोल्फु र किम्री क्षेत्रमा भने नाउर र झारल दुवै छन् । शे फोक्सुन्डो हिउँ चितुवाको घनत्व बढी भएको निकुञ्जमा पर्छ । हिउँ चितुवाले मानवबस्ती छेउमा आएर घरपालुवा पशु खाइदिने गरेका छन् । उपल्लो डोल्पामा धेरैजसो स्थानीय बोन धर्मावलम्बी भएकाले वन्यजन्तुको सिकारमा उनीहरू संलग्न हुँदैनन् । स्थानीयको समस्यालाई ख्याल गर्दै निकुञ्जले पशुधन जोगाउन आधुनिक सुरक्षित गोठको अवधारणा ल्याएको हो । ‘हिउँ चितुवाले खोरभित्र पशु देखे पनि जालीबाट भित्र छिर्न सक्दैन,’ डब्लूडब्लूएफ नेपालमा हिमाली क्षेत्रको कार्यक्रम हेर्ने अधिकृत गौतम पौड्यालले भने, ‘यही प्रविधि प्रयोग गरेर भारतको लद्दाख क्षेत्रमा पशुधन जोगाएको देखेर हामीले यहाँ सुरुवात गरेका हौं ।’
पौडेलका अनुसार लद्दाख क्षेत्रमा हिउँ चितुवाबाट हुने क्षति रोक्न भारत सरकार र डब्लूडब्लूएफ भारतले त्यस्ता गोठ–खोर प्रवर्द्धन गरिरहेका छन् । पशुपालन उपल्लो डोल्पालीको मुख्य आयस्रोत भएकाले उनीहरूको पशुधन जोगाउन निकुञ्जले पहलकदमी गरेको हो । गोठ–खोर बनाउन आर्थिक र प्राविधिक सहयोग डब्लूडब्लूएफ नेपालले गरेको छ । पहिलो चरणमा निकुञ्जभित्र पर्ने फोक्सुन्डोको छोलोपु र धो तरापमा यस्तो खोर बनाइएको छ । ‘शे फोक्सुन्डो निकुञ्जमा यो वर्ष सुरु भएको छ,’ पौड्यालले भने, ‘यसलाई उपल्लो डोल्पाका सबै गाउँसम्म विस्तार गरिनेछ ।’ उपल्लो डोल्पामा एकै परिवारले ५ सयसम्म पशु पाल्ने गरेका छन् । यसअघि ताप्लेजुङको कञ्चनजंघा संरक्षण क्षेत्रमा किसानका पशुधन जोगाउन यस्तै खोर बनाइएको थियो ।
निकुञ्जको फोक्सुन्डो मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष फुर्वा तेन्जिङ बुढाले आधुनिक खोर निर्माणपछि हिउँ चितुवाले गर्ने विनाश घटेको सुनाए । ‘हाम्रा बस्तुभाउ जोगाउन यो गोठले निकै सहयोग गरेको पायौं,’ उनले भने । यस्तो गोठ–खोरमा १ हजार ५ सयदेखि २ हजार वटा पशु अटाउँछन् । हिउँ चितुवाले गोठभित्र पशु देखे पनि छिरेर खान नपाएको रिसले तारजाली (नेट) मा टाउको बजार्ने गरेको देखिएको बुढाले बताए । हिउँ चितुवाले दिनमा २–३ किलो मासु खान्छ । धेरै नखाए पनि उसले पशुको ‘मास किलिङ’ (सखाप पार्न) रुचाउँछ ।
पेरीकपुवा हिउँ चितुवा संरक्षण समिति, फोक्सुन्डोका पूर्वसचिव छेबाङ ग्याल्बो लामाले पनि सुरक्षित गोठ–खोर बनाइएपछि पशुधन जोगिएको बताए । निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत (वार्डेन) सरोजमणि पौडेलले त्यस्ता गोठहरू स्थानीयस्तरमै उपलब्ध हुने काठ र ढुंगा प्रयोग गरी बनाउन सकिने बताए । ‘तारजाली सुर्खेत वा नेपालगञ्जबाट ढुवानी गर्न अलि बढी खर्च हुन्छ,’ उनले भने, ‘त्योबाहेक स्थानीय व्यक्तिहरूले नै श्रम गरेर बनाउन सक्छन् ।’
व्यवस्थापन समिति अध्यक्ष बुढाका अनुसार हेलिकप्टरबाट ढुवानी गर्दा महँगो हुने भएकाले फोक्सुन्डोमा प्रयोग गरिएको तारजाली खच्चडबाट ढुवानी गरिएको हो । हिउँ चितुवा र आहार प्रजातिबारे विद्यावारिधि गरिरहेका थापाका अनुसार आहारको खोजीमा हिउँ चितुवा २ हजार ७ सयदेखि ३ हजार मिटर उचाइसम्म झर्ने गरेको देखिन्छ । कान्तिपुर दैनिकमा अब्दुल्लाह मियाँले खबर लेखेका छन् ।