
सप्तरीबाट अपहरण गरी १५ वर्षीया बालिकालाई सुनसरी पुर्याएर बन्धक बनाई बलात्कार गरेको आरोपमा १ किशोरलाई १९ वर्ष ४ महिना कैद सजायको फैसला भएको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–४ मधवापुरका १८ वर्षीय किशोरलाई सप्तरी जिल्ला अदालतले कैद सजायका साथै जरिवाना तिराउने र क्षतिपूर्ति भराउने फैसला समेत गरेको हो ।
जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलासले आरोपितलाई जबरजस्ती करणी गरेको आरोपमा ८ वर्ष कैद, अपहरण तथा शरीर बन्धकतर्फ ४ वर्ष ८ महिना कैद र ४६ हजार ६४६ जरिवाना तथा थप सजायतर्फ ६ वर्ष ८ महिना कैद र ६६ हजार ६६६ रुपैयाँ जरिवाना तोकेको अदालतले जनाएको छ । आरोपितले पीडितलाई एकुमष्ठ ५० हजार रुपैयाँ क्षतिपूर्ति समेत भर्नुपर्ने फैसला भएको छ ।
कैदतर्फ सबैभन्दा बढी जबरजस्ती करणीमा ८ वर्ष कैद सजाय भुक्तान गरेपछि अपहरण तथा शरीर बन्धकतर्फको सानो कैद भोग्नु नपर्ने तर थप सजाय भने भोग्नुपर्ने जिल्ला अदालतले जनाएको छ । आरोपित समेत बालबालिका भएकाले दुईतिहाइ कैद सजाय हुने तर जरिवाना र क्षतिपूर्ति भने तिर्नुपर्ने ठहर भएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जनाए ।
आरोपितले २०७५ मंसिर २५ गते गाउँघरबाटै बालिकालाई अपहरण गरी सुनसरीको इटहरी पुर्याएर बन्धक बनाई बलात्कार गरेको भन्दै पीडितका बुवाले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०७५ पुस ३ गते उजुरी दिएका थिए । जिल्ला प्रहरी कार्यालय सप्तरीले आरोपितलाई २०७५ पुस ४ गते पक्राउ गरेको थियो । पक्राउ परेका आरोपितलाई सप्तरी जिल्ला अदालतले ०७५ पुस २८ गते बाल सुधार गृहमा पठाउने आदेश गरेको थियो ।