
झापाको मेचीनगरका विभिन्न चोक, बजार र राजमार्गमा राखिएका सीसी क्यामरा बिग्रिएर काम नलाग्ने भएका छन् ।
पूर्वी नाका काँकडभिट्टा समेत रहेको मेचीनगरका विभिन्न ठाउँमा राखिएका सीसी क्यामेरा बिग्रिएर काम नलाग्ने भएका हुन् ।
सुरक्षा दृष्टिकोणले संवेदनशील मानिएका ठाउँमा राखिएका सीसी क्यामेरा मर्मत गर्ने वा नयाँ जडान गर्ने भरपर्दो प्रयास हालसम्म हुनसकेको छैन ।
काँकडभिट्टा क्षेत्रमा २ वर्षअघि स्थानीय तहसँगको साझेदारीमा २३ वटा सीसी क्यामेरा जडान गरिएका थियो । तीमध्ये अधिकांश क्यामेरा बिग्रिएर काम नलाग्ने भइसकेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए ।
‘हङकङ मार्केट’को रूपमा परिचित धुलाबारी बजारको हालत पनि उस्तै छ । २ वर्षअघि नै धुलाबारी ट्राफिक प्रहरी बिटका हबल्दार योगेन्द्र थापाले आफ्नो तलब र स्थानीयको स्वेच्छिक सहयोगमा मुख्यचोकमा ४ वटा सीसी क्यामेरा जडान गरेका थिए । ती क्यामेरा अहिले बिग्रिएको अवस्थामा झुण्डिरहेको छ भने बिटमा राखिएको कन्ट्रोल रुममा थोत्रो टीभी स्क्रिन मात्र रहेको छ ।
धुलाबारी बजार व्यवस्थापन समितिका अध्यक्ष रवीन बस्नेतले थोत्रिएका सीसी क्यामेरा मर्मत गर्नुभन्दा नयाँ सीसी क्यामेरा जडान गरिनुपर्ने आवश्यकता आंैल्याए । उनले स्थानीय सरकारसँगको साझेदारीमा नयाँ सीसी क्यामेरा किनेर जडान गर्ने योजना अघि बढाइएको बताए ।
अन्तर्राष्ट्रिय नाकाका रूपमा रहेका मेचीनगरको काँकडभिट्टा र धुलाबारीमै सीसी क्यामेराको यो हालत हुनुले सुरक्षा जस्तो संवेदनशील विषयमा नयाँ प्रविधिको प्रयोगप्रति भइरहेको चरम बेवास्तालाई झल्काएको छ । – चन्द्रकला भण्डारी/रासस