
नुवाकोटको त्रिशूली अस्पतालमा बुधवारदेखि सघन उपचार कक्ष (आईसीयू) सेवा शुरूआत भएको छ ।
अस्पतालको स्तरवृद्धि भएर ५० शय्या भएसँगै सेवा प्रवाहमा देखिएका अभाव पूरा गर्ने क्रममा ती सघन उपचार सेवा सञ्चालनमा ल्याइएको हो ।
अस्पताल विकास समितिका अध्यक्ष अजुर्नप्रसाद न्यौपानेले आवश्यक उपकरण जडानको काम सम्पन्न भएसँगै वाग्मती प्रदेश सरकारबाट प्राप्त २ थान भेन्टिलेटर सहितको सेवा शुरू भएको जानकारी दिए ।
‘१० शय्यायको सघन उपचार सेवा अन्तर्गत अस्पतालले २ वटा भेन्टिलेटरसहित तत्कालको लागि ६ शय्याको सघन उपचार कक्ष र ४ शय्याको अक्सिजन शय्या (हाई डिपेन्डेन्सी युनिट–एचडीयू) सेवा शुरू भएको छ,’ उनले भने, ‘सेवा सञ्चालनमा आए पनि औपचारिक उद्घाटन भने यही पुस ७ गते वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले गर्नुहुनेछ ।’
अस्पतालले कोभिड–१९ बाट गम्भीर बिरामीलाई पहिलो प्राथमिकता दिँदै सघन उपचार सेवा सञ्चालनमा ल्याएको जनाएको छ । सघन उपचार सेवा चलाउन प्रदेश सरकारको सहयोगमा अस्पतालले यसअघि नै कर्मचारी भर्ना र तालीम दिएको थियो । उपकरण जडानको काम पूरा भएसँगै दक्ष जनशक्तिमार्फत सेवा सञ्चालनमा ल्याइएको हो ।
विक्रम संवत् २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षति पुगेको अस्पतालले पुनःनिर्माण पश्चात हाल सुविधासम्पन्न भवन, अत्याधुनिक उपकरण, विशेषज्ञ सेवा प्रवाह गरिराखेको छ । यसले नुवाकोटसहित रसुवा र धादिङको बिरामीलाई सेवा लिएका छन् ।
अस्पतालमा गत कात्तिक ८ गतेदेखि कोरोना जाँच गर्ने प्रयोगशाला समेत सञ्चालनमा आएको छ । यसका लागि सांसद नारायण खतिवडाले विशेष पहल गरेका थिए ।