
रूसमा विकसित स्पुतनिक–भी नामक कोभिड–१९ विरुद्धको खोपलाई नागरिकको उमेर अनुसार सुरक्षित र प्रभावकारी बन्ने भएपछि यसको प्रयोगलाई अनुमति दिइने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार बताएका छन् ।
आफ्नो उमेर समूहका मानिसका लागि खोप सुरक्षित प्रमाणित हुँदासाथ आफूले पनि यसको प्रयोग गर्ने उनले बताए ।
रूसी राष्ट्रपतिले आफ्नो वार्षिक कार्यक्रमको समापनको सन्दर्भमा गरिएको पत्रकार सम्मेलनमा भने, “मलाई अझै खोप दिइएको छैन तर विज्ञको सल्लाहका आधारमा सम्भव हुने बित्तिकै यथाशीघ्र यो सेवा लिनेछु ।”
रूस ‘कोभिड खोप आविष्कार गर्ने र उत्पादन गर्न शुरु गर्ने विश्वको पहिलो मुलुक’ बनेको दावी गर्दै पुटिनले भने, “रूसले उत्पादन गरेको स्पुत्निक खोप करिब ९७ प्रतिशत प्रभाबकारी रहेको रूसी विज्ञहरूले पुष्टि गरेका छन् ।”
गत अगस्टमा दर्ता गरिएको सोभयतकालीन चर्चित सेटेलाइट स्पुतनिक–भीका नाम राखिएको यस खोप विकासको पुटिनले प्रशंसा गरेका छन् । खोपको ठूला क्लिनिकल परीक्षण हुनुपूर्व नै रूसले खोप विकासमा सफलता पाएको भनी उनले नै घोषणा गरेका थिए ।