२३ असार २०८३, मंगलबार

उखु किसान ठग्ने ‘साहु’ खोज्न सर्कुलर, दुई दिन बित्यो, प्रहरीले भेटेन

पुस ३, २०७७
उखु किसान ठग्ने ‘साहु’ खोज्न सर्कुलर, दुई दिन बित्यो, प्रहरीले भेटेन

नेपाल प्रहरीले उखु किसानबाट उखु लगेर सोबापतको रकम भुक्तानी नदिने चिनी मिलका ‘साहु’ खोज्न प्रहरी परिचालन गरेको छ ।

गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले किसानबाट उखु लगेर ठगी गरी रकम नदिने ‘साहु’ खोज्न सर्कुलर जारी गरे पनि प्रहरीले भने उनीहरूलाई बुधबार र बिहीबार दुई दिन बित्दासमेत भेटेको छैन ।

विभिन्न चार वटा चिनी मिलका सञ्चालकले उखु लगेबापत किसानलाई करिब ७० करोडभन्दा बढी बक्यौता भुक्तानी गर्न बाँकी छ । जसअनुसार लुम्बिनी सुगर मिलले ८ करोड ४१ लाख, अन्नपूर्ण सुगर मिलले १७ करोड, इन्दिरा सुगर मिलले ४ करोड ७० लाख र श्री राम सुगर मिलले सबैभन्दा धेरै २६ करोड ७७ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले किसानबाट उखु लगेर रकम भुक्तानी नगर्ने चिनी मिलका सञ्चालकलाई पक्राउ गर्न सर्कुलर भएको तर बिहीबार रातिसम्म कोही पनि पक्राउ नपरेको र खोजतलास जारी रहेको बताए ।

‘प्रहरीले बुधबारदेखि नै खोजी गरिरहेको छ तर अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन्, खोजतलास जारी छ,’ प्रहरी प्रवक्ता कुँवरले भने ।

उनका अनुसार श्रीराम सुगर मिल रौतहट, अन्नपूर्ण सुगर मिल सर्लाही, इन्दिरा सुगर मिल नवलपरासी र लुम्बिनी चिनी उद्योग नवलपरासीका सञ्चालक गरी ६ जनालाई पक्राउ गर्न प्रहरीले पक्राउ पुर्जी पाएको छ ।

गृह मन्त्रालयले गत मंगलबार नै नवलपरासी, रौतहट र सर्लाही जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई किसान ठग्ने सञ्चालकलाई खोज्न निर्देशन दिएको थियो । प्रहरीले उनीहरूलाई पक्राउ गरी ठगी मुद्दा चलाउने बताएको छ । त्यसका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूलाई निर्देशन भइसकेको छ ।

पीडित उखु किसानहरूले समेत आफूलाई ठगी गर्नेहरूउपर प्रहरीमा जाहेरी दिइसकेका छन् । उनीहरू उखु लगेबापतको वर्षांदेखिको वक्यौता रकम नपाएपछि राजधानी आएर आन्दोलन गरिरहेका छन् ।

गत वर्षसमेत उखु किसान चिनी मिलका सञ्चालकबाट ठगिएको र उखु दिएबापतको रकम नपाएको भन्दै राजधानी काठमाडौं आएर आन्दोलन गरेका थिए । सो बखत सरकारले समस्या समाधान गर्ने सहमति गरेपछि उनीहरू फिर्ता भएका थिए । राजधानी दैनिकमा महेश्वर गौतमले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्