
भारतको उत्तर प्रदेशका एक दिहाडी मजदुरले आफ्नो तीन वर्षका छोरालाई ओछ्यानमा पिसाब फेरेको भन्दै कुटपिट गरेर हत्या गरेका छन् । बालककी आमाले प्रहरीलाई उक्त घटनाबारे सूचना दिएपछि आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।
छोरालाई मारिसकेपछि आरोपी शव बोकेर हमीरपुर भागेका थिए । हमीरपुर प्रहरीले नियन्त्रणमा लिएर कानुनपुर प्रहरीलाई बुझाइएको छ ।
कानपुर नगरका एसपी बृजेश श्रीवास्तवले भने, ‘आरोपी शन्तराज इँटा भट्टामा काम गर्ने मजदुर हुन् । छोराको हत्या गरेपछि धम्क्याउँदै पत्नी र छोरीलाई घटनाबारे कसैलाई नबताउन भनेका थिए ।’
प्रहरीबाट बच्न उनी छोराको शव र परिवारका अन्य सदस्यसहित हमीरपुर जिल्लाको चानी गाउँमा भागेका थिए ।
प्रहरी अधिकारीले भने, ‘सन्तराजले साथमा सुतेका आफ्ना छोरा रवीन्द्रलाई रिसको झोँकमा यसकारण मारे, किनकी मंगलबार राति रवीन्द्रले ओछ्यानमा पिसाब गरेका थिए ।’
उनले अरु बच्चा र पत्नीको अगाडि नै निर्ममतापूर्वक छोरालाई कुटेका थिए । आमाले आफ्नो छोराको लागि दयाको भीख माग्दै रहिन् । तर, उनी रोकिएनन् ।
उनले बच्चाको ज्यान नजाँदासम्म पिटिरहे । त्यसपछि उनी शव लिएर भागे । रवीन्द्र सन्तराजका कान्छा छोरा थिए । त्यसअघि दुई छोरी छन् ।