२५ जेठ २०८३, सोमबार

महामारी छिचोल्दै अर्थतन्त्र चलायमान: राजस्व संकलन उत्साहप्रद, मंसिरमा लक्ष्यभन्दा बढी

महामारी छिचोल्दै अर्थतन्त्र चलायमान: राजस्व संकलन उत्साहप्रद, मंसिरमा लक्ष्यभन्दा बढी

कोरोना महामारीका बीचमा सरकारले उत्साहजनक रूपमा राजस्व संकलन गरेको छ । 

सुरक्षाका रणनीतिहरू अपनाउँदै उद्योगधन्दाहरू बिस्तारै चलायमान हुँदा राजस्व संकलन लक्ष्यउन्मुख देखिएको अर्थ मन्त्रालयले जनाएको छ । 

चालू आर्थिक वर्ष २०७७/७८ को पाँच महिनासम्ममा सरकारले गरेको राजस्व संकलन उत्साहप्रद देखिएको अर्थ मन्त्रालयका सह–सचिव एवं प्रवक्ता रामेश्वर दंगालले लोकान्तरलाई बताए । 

उनका अनुसार मंसिर मसान्तसम्ममा ३ खर्ब ३६ अर्ब ८२ करोड रकम राजस्व संकलन भएको छ । 

अर्थ मन्त्रालयले दिएको जानकारी अनुसार, पछिल्लो ५ महिनामा राजस्व संकलनको अवस्था वृद्धि भएको देखिएको हो । 

लक्ष्यको ९६.०९ प्रतिशत राजस्व संकलन गरेको मन्त्रालयले जनाएको छ ।

गत वर्षको सोही अवधिको तुलनामा १.४७ प्रतिशतले राजस्व संकलन वृद्धि भएको हो । 

आन्तरिक राजस्व विभागले उठायो लक्ष्यभन्दा बढी राजस्व

आन्तरिक राजस्व विभागले मंसिर महिनामा लक्ष्यभन्दा माथि राजस्व संकलन गरेको छ । 

विभागले मंसिर महिनामा मात्रै लक्ष्यको १०३.३५ प्रतिशत राजस्व संकलन गरेको विभागका निर्देशक एवं सूचना अधिकारी अर्जुन ढकालले लोकान्तरलाई जानकारी दिए । 

उनका अनुसार विभागले मंसिर महिनामा २२ अर्ब ८७ करोड ३८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यस महिनामा विभागले २२ अर्ब १३ करोड ३२ लाख राजस्व संकलनको लक्ष्य राखेको थियो ।

मंसिर महिनामा ६ अर्ब ७८ करोड ८७ लाख आयकर संकलन गरेको छ । यस्तै ८ अर्ब ६१ करोड ७१ रुपैयाँ राजस्व संकलन भएको छ भने ६ अर्ब ४७ करोड अन्तःशुल्क संकलन भएको छ । 

विभागले चालू आर्थिक वर्षको पाँचौं महिनासम्ममा १ खर्ब ३३ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो, जसमध्ये १ खर्ब २९ अर्ब ४० करोड संकलन राजस्व संकलन भएको छ । जुन लक्ष्यको ९६. ९८ प्रतिशत हो । 

विभागले मंसिर महिनासम्ममा ३९ अर्ब ५७ करोड रुपैयाँ आयकर संकलन गरेको छ । विभागले वार्षिक रूपमा ४ अर्ब ५० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । 

ठूला करदाता कार्यालयका प्रमुख भन्छन् : व्यवसायीले साथ दिए

मंसिरसम्मको अवधिमा ठूला करदाता कार्यालयले ४४ अर्ब २६ करोड ५३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । 

मंसिर महिनासम्ममा कूल ४९ अर्ब ३८ करोड ८७ लाख रुपैयाँ बराबरको राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा कार्यालयले लक्ष्यको ८९.६३ प्रतिशत मात्रै राजस्व संकलन गरेको हो ।

यसबीचमा कार्यालयले भ्याटबापत २० अर्ब २३ करोड ६ लाख रुपैयाँ संकलन गरेको छ, जुन लक्ष्यको ९२.९३ प्रतिशत हो । मंसिरसम्ममा कार्यालयले २२ अर्ब ७० करोड ७७ लाख रुपैयाँ भ्याट संकलन गर्ने लक्ष्य लिएको थियो । 

यद्यपि मंसिर महिनामा भने राजस्व संकलनको अवस्था उत्साहप्रद छ । 

कार्यालयले ४ अर्ब १८ करोड ९८ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ४ अर्ब ३६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । जुन लक्ष्यको १०४.०६ प्रतिशत हो । 

मंसिर महिनामा मात्रै ठूला करदाता कार्यालयले विभिन्न शीर्षकमा गरी कूल ६ अर्ब ९७ करोड ८० लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

कूल ७ अर्ब ६२ करोड ८६ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा कार्यालयले यसको ९१.४७ प्रतिशत मात्रै राजस्व संकलन गर्न सकेको हो । 

मंसिर महिनामा कार्यालयले २ अर्ब १५ करोड ८९ लाख कर राजस्व संकलन गरेको छ । 

कोरोना महामारीका बीचमा पनि लक्ष्यको ८९.६३ प्रतिशत राजस्व संकलन गर्नु सन्तोषजनक रहेको ठूला करदाता सेवा कार्यालयका प्रमुख बाबुराम गौतमले लोकान्तरलाई बताए । उनले भने,‘महामारीका बीचमा यत्तिको राजस्व संकलन हुनु भनेको त सन्तोषजनक नै हो ।’

उनले ठूला उद्योगी, व्यवसायीहरूको साथले पनि राजस्व संकलन सन्तोषजनक रहेको उनको भनाइ छन् । उनले भने, ‘उद्योगी व्यवसायीहरूले निकै नै धेरै साथ दिनुभयो, उहाँहरूले संकटको घडीमा पनि कर तिर्नुभयो ।’

यस बीचमा होटल तथा पर्यटन क्षेत्र ठप्प हुँदा राजस्व संकलनमा असर परेको सरकारले बताएको छ । 

कोरोना महामारीका कारण सबैभन्दा बढी असर होटल तथा पर्यटन क्षेत्रमा भएको छ ।

यी क्षेत्रहरू हालसम्मको अवधिमा पूर्ण बन्द रहँदा राजस्वमा असर गरेको ठूला करदाता सेवा कार्यालय प्रमुख गौतम बताउँछन् । 

महालेखाको तथ्यांक : सन्तोषजनक नतिजा 

कोरोना महामारीका बीच पनि सरकारले राजस्व संकलनमा सन्तोषजनक नतिजा हात पारेको छ ।

चालू आर्थिक वर्षको पाँचौ महिनासम्ममा सरकारले कुल लक्ष्यको २९.९३ प्रतिशत राजस्व संकलन गर्दै सन्तोषजनक नतिजा हासिल गरेको हो । 

महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारले चालू आर्थिक वर्षको पुस १ गतेसम्ममा २९.९३ प्रतिशत राजस्व संकलन गरेको हो ।

यस अवधिमा सरकारले ३ खर्ब २ अर्ब ७८ करोड ७७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । 

सरकारले चालू आर्थिक वर्ष २०७७/७८ मा कुल १० खर्ब ११ अर्ब ७५ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन गर्ने अनुमानित लक्ष्य राखेको छ । 

मुलुकमा कोभिड– १९ रोगको महामारीका कारण आर्थिक क्षेत्र ठप्प प्रायः रहेको अवस्थामा पनि सरकारले राजस्व संकलन सन्तोषजनक गर्न सकेको अर्थ मन्त्रालयले जनाएको छ । 

अघिल्लो आर्थिक वर्षको पुस १ गतेसम्ममा सरकारले कुल लक्ष्यको २७.९५ प्रतिशत राजस्व संकलन गर्न सकेको थियो । 

सामान्य अवस्थामा भन्दा अहिले महामारीले निम्त्याएको विषम परिस्थितिमा राजस्व संकलनको लक्ष्य बढ्नु उत्साहप्रद रहेको मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले लोकान्तरलाई बताए । 

उनले भने, ‘अघिल्लो वर्ष र अहिलेको आर्थिक वर्ष तुलनाका दृष्टिकोणले योग्य त हैनन्, तर पनि अघिल्लो वर्षको भन्दा अहिले निकै राम्रो राजस्व संकलन भएको देखियो ।’

पूँजीगत खर्चमा कमजोर 

पुस १ गतेसम्ममा सरकारले कूल लक्ष्यको १०.२९ प्रतिशत मात्रै पूँजीगत खर्च गरेको छ । यस अवधिमा ३६ अर्ब ४१ करोड रुपैयाँ पूँजीगत खर्च भएको छ । 

पुस १ गतेसम्ममा २९.८० प्रतिशत चालू खर्च गर्दा पूँजीगत खर्चको स्थिति भने कमजोर देखिएको हो । 

वित्तीय खर्च भने १०.२९ प्रतिशत भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्