२८ जेठ २०८३, बिहीबार

फिलिपिन्समा शक्तिशाली भूकम्प: इन्डोनेसियामा सुनामीका लहर, जापानमा 'अलर्ट' जारी

जेठ २५, २०८३
काठमाडौं
फिलिपिन्समा शक्तिशाली भूकम्प: इन्डोनेसियामा सुनामीका लहर, जापानमा 'अलर्ट' जारी

दक्षिणी फिलिपिन्सको तटीय क्षेत्रलाई केन्द्रविन्दु बनाएर शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार फिलिपिन्सको दक्षिणी क्षेत्रमा ७.८ म्याग्निच्युडको तीव्र गतिको भूकम्प गएको हो।

भूकम्प स्थानीय समयअनुसार बिहान ७:३७ बजे महसुस गरिएको थियो । फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिस्मोलोजीका अनुसार भूकम्पको केन्द्रविन्दु मिन्डानाओ टापुमा अवस्थित जनरल स्यान्टोस सहरभन्दा १३ किलोमिटर दक्षिण-पश्चिममा जमिनको सतहबाट १० किलोमिटर गहिराइमा रहेको थियो ।

अधिकारीहरूका अनुसार शक्तिशाली भूकम्पपछि सो क्षेत्रमा लगातार थुप्रै परकम्पहरू गइरहेका छन् । फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिस्मोलोजीले हालसम्म कम्तीमा १६ वटा परकम्पहरू रेकर्ड गरिसकेको छ, जसको तीव्रता १.३ देखि ६.७ म्याग्निच्युडसम्म रहेको छ।

भूकम्पलगत्तै मिन्डानाओ क्षेत्रका केही तटीय इलाकाहरूमा सुनामी आउन सक्ने आशंका व्यक्त गरिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार मिन्डानाओ क्षेत्रमा विद्युत् आपूर्ति पूर्ण रूपमा ठप्प भएको खबरहरू बाहिरिएका छन् । 

सम्भावित जोखिमलाई मध्यनजर गर्दै तटीय क्षेत्रका सर्वसाधारणलाई तत्काल सुरक्षित र उच्च स्थानतर्फ जान अपिल गरिएको छ । हालसम्म भूकम्पबाट भएको भौतिक क्षति वा मानवीय हताहतीको विस्तृत विवरण भने प्राप्त भइसकेको छैन ।

फिलिपिन्समा आएको भूकम्पको प्रभाव छिमेकी देश इन्डोनेसियामा समेत देखिएको छ । इन्डोनेसियाको मौसम, जलवायु तथा भूभौतिकी एजेन्सीका अनुसार स्थानीय समयअनुसार बिहान करिब ७:२० बजे देशका तीन तटीय इलाकामा सुनामीका लहरहरू प्रत्यक्ष देखिएका हुन् । 

एजेन्सीका अनुसार इन्डोनेसियाको उत्तरी मलुकु प्रान्तको केदी, उलु सियाउ र मेलोन्गुआनेमा सुनामीका लहरहरू रेकर्ड गरिएका हुन् । यद्यपि, यी लहरहरूको उचाइ निकै कम अर्थात् ०.०९ मिटरदेखि ०.१९ मिटरको बीचमा मात्रै सीमित रहेको बीएमकेजीले जनाएको छ ।

यसैबीच, जापानले पनि सम्भावित सुनामीलाई लिएर आफ्नो देशमा चेतावनी (अलर्ट) जारी गरेको छ । जापानी अधिकारीहरूले स्थानीय समयअनुसार बिहान ११ बजेसम्म देशको दक्षिणी ओकिनावा टापु र प्रशान्त महासागरीय तटीय क्षेत्रमा रहेका प्रान्तहरूमा १ मिटरसम्म अग्लो सुनामीको लहर आउन सक्ने चेतावनी दिएका छन् । सम्बन्धित क्षेत्रका नागरिकहरूलाई सतर्क रहन र तटीय क्षेत्रभन्दा टाढा रहन आग्रह गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्