२५ असार २०८३, बिहीबार

मलेसियामा नेपालीलाई बन्धक बनाई ठग्ने डेभिड उर्फ दुर्गाबहादुरको स्वीकारी बयान

पुस ३, २०७७
मलेसियामा नेपालीलाई बन्धक बनाई ठग्ने डेभिड उर्फ दुर्गाबहादुरको स्वीकारी बयान

मलेसियामा नेपालीलाई शरीर बन्धक बनाएर पैसा असुल्ने डेभिड भनिने दुर्गाबहादुर श्रेष्ठले शरीर बन्धक बनाएको स्वीकारी बयान दिएका छन् । दाङको पह

रुवाका मध्म रैदासलाई सात दिनसम्म बन्धक बनाएर पैसा असुलेको उनले स्वीकारेका हुन् । 

नेपालबाट ६० हजार रिँगेट अर्थात् नेपाली १५ लाख ९२ हजार रुपैयाँ फिरौती असुलेको पनि स्वीकारेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख प्रहरी नायब उपरीक्षक (डीआईजी) सहकुल थापाले बताए ।

‘डेभिड भन्ने दुर्गाबहादुर श्रेष्ठले आफूले शरीर बन्धक बनाएको र पैसा फिरौती गरेको स्वीकारेको छ,’ डीआईजी थापाले लोकान्तरसँग भने ।

रैदासबाट पैसा असुले पछि नेपालको प्रहरीले खोज्न सक्ने भएकाले त्यसबाट बच्नका लागि मलेसियन प्रहरीकोमा लगेर रैदासलाई मैले पैसा चोरेको हो भन्न लगाएर जबरजस्ती कागज गराएको पनि स्वीकारेको डीआईजी थापाले बताए ।​

सीआईबीले श्रेष्ठलाई असोज २६ गते पक्राउ गरेर सार्वजनिक गरेका थियो । 

डन डेभिडविरुद्ध मलेसियामा बसेर गुण्डागर्दी र अपहरण गरेको भन्दै सीआईबीमा मध्म रैदासकी श्रीमतीसहित अन्य १५ जनाले किटानी जाहेरी दिएका थिए । 

अनुसन्धानपछि सीआईबीले शरीर अपहरण, फिरौती लगायतका अपराधमा संलग्न भएको मागदाबी सहित जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको थियो । 

जिल्ला अदालत काठमाडौंले डेभिडलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएसँगै उनलाई डिल्लीबजार कारागार लगान गरेको थियो ।

के थियो घटना र कसरी अपहरणमा परे रैदास ?

डेभिडले मलेसियाको लोकपुडमा सञ्चालन गरेको क्यान्टिनमा  दाङको तुलसीपुर उपमहानगरपालिका–१५ का मध्म रैदास विगत ४ वर्षदेखि काम गर्दै आएका थिए । 

मलेसिया गएको ३ वर्षमा बुवा बिरामी भएपछि उनी नेपाल फर्किए । नेपाल फर्केर बुवाको उपचार गरेपछि उनी १ वर्षअघि फेरि मलेसिया गए । 

१ वर्ष पुरानै क्यान्टिनमा काम गरेपछि उनको भिसा सकियो । उनले आफूले काम गर्दै आएको डेभिडको कम्पनीलाई भिसा थप्न आग्रह गरे । तर अनेक बहाना गर्दै उनको भिसा थपिएन ।

पीडित मध्म रैदासका अनुसार एक दिन उनलाई सोही कम्पनीको अर्को शाखामा लैजान भन्दै डेभिडका चालक र मलेसियाका स्थानीय गुण्डा लगाएर मलेसियाको केलाङस्थित काङकुङ रेस्टुरेन्टको एक कोठामा लगेर राखियो । 
एक रात उनलाई खान पनि नदिई अँध्यारो कोठामा राखियो । अर्को बिहान उनलाई अर्काे ‘क्याभिन’ जस्तो कोठामा राखियो । 

डेभिड आएर ‘तैले स्टाफको पैसा चोरिस्’ भन्दै आरोप लगाए । ‘केटाहरूले रैदासले पैसा चोरेको हो भन्छन् भन्दै डेभिडले थर्काउन थाल्यो,’ पीडित रैदासले लोकान्तरसँगको कुराकानीमा भने ।

त्यसपछि उनी छाँगाबाट खसै जस्तै भए । त्यो बेलासम्म डेभिडले उनको मोबाइल र राहदानी खोसेर लगिसकेका थिए । उनलाई धम्क्याएर भिडियोमा ‘पैसा चोरेको हुँ’ भन्न समेत लगाइयो ।

‘मलाई त्यहाँ धम्क्याएर, पिटेर मैले पैसा चोरको हुँ भन्न लगाए । मर्नुभन्दा चोरेको हुँ भन्छु भन्ने सोचेर मैले भिडियोमा भनें,’ रैदासले लोकान्तरसँग भने, ‘अर्को दिन बिहान आएर फेरि डेभिडले धम्की दिन थाले – यताउता गरिस् भने मैले तलाईं यहीँ सिध्याइदिन्छु । घरमा सत्य कुरा गरिस भने तँ गइस् ।’ 

त्यसपछि डेभिडले उनलाई घरमा फोन गरेर ‘मैले साथीको पैसा चोरेको हो, त्यो पैसा फिर्ता नभएसम्म आउन पाउँदिनँ । १७ लाख २० हजार नेपाली रुपैयाँ पठाइदिनुपर्‍यो’ भन्न लगाएको रैदासले बताए । 

डेभिडले रैदासकी श्रीमतीलाई आफैंले फोन गरेर उनलाई बोल्न लगाए । रैदासले आफू समस्या फसेको र खोजेर भए पनि १७ लाख रुपैयाँ पठाउन श्रीमतीलाई आग्रह गरे ।

दाङबाट रैदासकी श्रीमतीले पैसा पठाएपछि बाँकी पैसा तलबबाट काट्ने गरी उनलाई पुरानै होटलमा ल्याइयो । 

रैदासलाई आफ्नै गाडीमा हालेर डेभिडले मलेसियास्थित नेपाली राजदूतावासको तेस्रो तलामा लगेर पैसा चोरेको र त्यो पैसा तिरेको भन्ने कागज जबरस्ती बनाए । 

त्यहाँबाट उनलाई फर्काएर काममा लगाए । 

त्यसपछि रैदास डेभिडकै रेस्टुरेन्टमा काम गरिरहेका थिए । उनी नेपाल प्रहरीको नियमित सम्पर्कमा आए । 

प्रहरीले काठमाडौंमा डेभिडलाई पक्राउ गरेपछि सीआईबीले रैदासलाई मलेसियाबाट असोज २४ गते नेपाल फर्काएको थियो ।

काठमाडौंमा अलिशान बगंला 

डेभिडको काठमाडौंको बाँसबारीमा साढे २ तल्लाको आलिशान बंगला छ । २३ आनामा बनेको बंगला उनको श्रीमती माया श्रेष्ठको नाममा रहेको छ । डेभिडकी श्रीमती माया श्रेष्ठ भुटानी  हुन् । उनले नेपाली नागरिकता माया श्रेष्ठको नामबाट लिएको र उनको भुटानको नामा धनमाया राई रहेको अनुसन्धानमा देखिएको सीआईबीले जनाएको छ । 

सन् २००० मा रेस्टुरेन्टमा कामदारको रूपमा मलेसिया पुगेका डेभिड र भुटानी नागरिक धनमायाबीच त्यहीँ रेस्टुरेन्टमा भेट भएको थियो । उनीहरूले सन् २०११ विवाह गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । 

‘त्यसबेला एक चाइनिजले धनमायालाई उपहारस्वरूप एउटा रेस्टुरेन्ट दिएका थिए, त्यसैलाई विस्तार गर्दै उनीहरूले १४ वटा पुर्‍याएका रहेछन्,’ सीआईबीका अनुसन्धान अधिकृतले लोकान्तरसँग भने ।

मलेसियामा समेत चिनिएका गुण्डा नाइके 

सीआईबीले पक्राउ गरेका डेभिड मलेसियामा समेत चिनिएका गुण्डा नाइके भएको उनीबाट पीडित एक नेपालीले बताए ।

उनकै रेस्टुरेन्टमा काम गरेका ती नेपालीका अनुसार उनलाई मलेसियामा समेत डेभिड डनका नामले चिनिन्छ । उनले मलेसियाको प्रहरी, स्थानीय अधिकारी र नेपालको राजदूतावाससँग सम्बन्ध विस्तार गरेका छन् ।

‘उनको शरीरमा एउटा ट्याटू छ, जसले त्यहाँको गुण्डा समूहको संकेत जनाउने गर्दछ,’ उनले भने, ‘डेभिडको रेस्टुरेन्टमा आउनेहरूले यो ट्याटू हाम्रो ग्याङको हो, यसको प्रमुख डेभिड हुन भनेका थिए ।’

उनले सल्लाहकारको रूपमा मलेसियाका पूर्व एआईजीलाई तलब दिएर राखेको प्रहरी अनुसन्धानमा खुलेको सीआईबीका एक अधिकारीले बताए । 

‘डेभिडले सल्लाहकारको रूपमा मलेसिया पुलिसका रिटायर्ड एआईजीलाई तलब दिएर समेत राखेको देखिन्छ,’ ती अधिकारीले लोकान्तरसँग भने ।

आफूविरुद्ध उजुरी पर्न लागेको अप्ठ्यारो पर्ने देखिएपछि सेटिङ मिलाउने प्रयोजनका लागि उनी सुटुक्क नेपाल आएको प्रहरी अनुसन्धानमा खुलेको थियो ।

‘अनुसन्धान गर्दै जाँदा नेपालमा पनि प्रहरीमा सेटिङ गर्न सकिन्छ कि भन्ने सोच देखिन्छ,’ ती अधिकारीले भने, ‘तर उनको त्यो प्रयास असफल भएको छ ।’ 

डेभिडले काठमाडौंको शेर्पा मलमा हार्ड भन्ने कपडा पसल समेत सञ्चालन गर्दै आएका छन् । उनले त्यो पसल केही समयअगाडि किनेको देखिने प्रहरीले जनाएको छ ।

सीआईबीमा डेभिडविरुद्ध ५ जना महिला र १० जना पुरुषले उजुरी दिएका छन् । ललितपुर, काठमाडौं, सिन्धुपाल्चोक र चितवनका २४ वर्षीया, २९ वर्षीया, ३१ वर्षीया र २७ वर्षीया महिला तथा काठमाडौं, उदयपुर, रामेछाप, धनकुटा र झापाका ३५ देखि ४५ वर्ष उमेरका ९ पुरुषले उजुरी दिएको सीआईबीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्