२३ असार २०८३, मंगलबार
नेकपा विवाद

पेरिसडाँडा भेलाको निष्कर्ष : ओलीमा राजनीतिक स्खलन, नसच्चिए कडा कदम !

पेरिसडाँडा भेलाको निष्कर्ष : ओलीमा राजनीतिक स्खलन, नसच्चिए कडा कदम !
फाइल फोटो

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का असन्तुष्ट पक्षले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भेला राखेर प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सच्चिन चेतावनी दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रवार आयोजित प्रदेश १ का नेताहरूको भेलामा ओलीले अध्यादेश फिर्ता नलिए थप कदम चाल्ने निष्कर्ष निस्किएको केन्द्रीय कमिटी सदस्य जगन्नाथ खतिवडाले जानकारी दिए ।

'अध्यादेश फिर्ता नभए हामीले थप कदम चाल्छौं र आजको भेलामा पनि त्यही विषयमा कुराकानी भयो,' खतिवडाले सञ्चारकर्मीहरूसँग बोल्दै भने, 'प्रधानमन्त्री ओलीबाट विधि, पद्धति र नेकपाको राजनीति स्खलन भइरहेको छ ।'

उनले प्रचण्ड र ओली दुवैको प्रतिवेदन सबैले पढेको र ओली गलत रहेको निष्कर्षमा आफूहरू पुगेको बताए । 'हामीले अध्यक्ष प्रचण्डलाई भन्यौं, तपाईंले भनेको सत्य हो, ओलीले भनेको असत्य हो,' खतिवडाले सुनाए ।

भेलामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले पार्टीलाई विभाजित हुन नदिने तर गलत प्रवृत्तिका विरुद्धमा लडिरहने बताएका थिए ।

'सम्बोधन गर्ने सबै नेताहरूले सबैले पार्टी एकताका सैद्धान्तिक पक्ष, ऐतिहासिक सन्दर्भ, अबको बाटोलगायतका विषयमा कुराकानी गर्नुभयो,' खतिवडाले भने, 'सबैको निष्कर्ष एउटै हो, पार्टीलाई विभाजित हुन नदिने र गलत प्रवृत्तिका विरुद्ध लडिरहने ।

खतिवडाले आजको भेला गुट भेला नभएको दाबी गरे । 'विधि र पद्धतिमा चल्नुपर्छ भन्नेहरूको भेलालाई गुट भेला भन्न मिल्दैन,' उनले भने । 

कसले के भने ?

भेलामा बोल्दै प्रचण्डले पार्टीलाई एकताबद्ध बनाउन सही नेतृत्व र सही विचार आवश्यक रहेको टिप्पणी गरे । प्रदेश १ का सचिवसमेत रहेका सांसद सुरेशकुमार राईले लोकान्तरसँग भने, 'अध्यक्ष प्रचण्डले पार्टी विभाजनलाई रोक्न आफूहरूले सुझबुझपूर्ण कदम चालेको बताउनु भयो । अध्यादेश फिर्ता गर्न लगाएर पार्टीको स्थायी कमिटीले सही निर्णय गरेको छ ।'

प्रचण्डले पार्टीभित्र को बुर्जुवा र को क्रान्तिकारी रहेको भन्ने विषयमा लडाईं भइरहेको बताए ।  'म कार्यकारी अध्यक्षका हैसियतले भन्न चाहन्छु, पार्टीलाई क्रान्तिकारी दिशातर्फ लैजान मैले र साथीहरूले पहल गरिरहेका छौं ।'

भेलामा वरिष्ठ नेता झलनाथ खनालले ओली अधिनायकवादी शैलीमा अघि बढ्न खोजेको आरोप लगाए ।

'दस्तावेजमा परिपूर्ण लोकतन्त्र भनेको छ, व्यवहार चाहिँ एकलकाँटे देखिएको छ,' खनालले सम्बोधन गर्दै भने, 'अध्यादेशमार्फत संवैधानिक निकायमा आफ्ना खल्तीका मान्छे भर्न खोज्ने अनि परिपूर्ण लोकतन्त्र भन्ने ? यस्तो पनि हुन्छ ?'

भेलामा अर्का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई ओलीले नै फूटको दिशातर्फ लगेको ब्रिफिङ गरेका थिए ।

'पार्टीलाई कुनै हालतमा फुट्न दिनुहुन्न,' नेता नेपालको भनाइ उदृत गर्दै राईले लोकान्तरसँग भने, 'हामीले फूटबाट जोगिन कसरत गरिरहेका छौं । तपाईंहरूले पनि आफ्नो तहमा पार्टीलाई एकताबद्ध बनाउने कोशिस गर्नुहोस् ।'

अपराह्न १ बजे शुरू भएको भेला साढे ३ बजे अन्त्य भएको थियो । भेलालाई राई आफैंले संचालन गरेका थिए । उनले पार्टीभित्रको अन्तरविरोध के हो भनेर तल्लो तहसम्म नेता कार्यकर्तालाई बुझाउनुपर्ने राय आफूले राखेको जानकारी दिए ।

सचिवालयमा ओली र प्रचण्ड दुवैले आफ्नो प्रतिवेदन पेश गरेको र त्यो मध्ये प्रचण्डको प्रतिवेदन सही र ओलीको गलत रहेको निष्कर्ष भेलाले निकालेको छ ।

salt training

कमेन्ट गर्नुहोस्