
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ भेटवार्ता भएको हो ।
स्थायी समिति बैठकको निर्णयअनुसार प्रधानमन्त्रीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता नगरेपछि प्रचण्ड ओलीलाई भेट्न बालुवाटार पुगेको बताइएको छ । यद्यपी थप केही सहमति भए-नभएकोबारे खुल्न बाँकी रहेको छ ।
स्थायी समितिको निर्णयअनुसार प्रधानमन्त्रीले बिहीबारको मन्त्रिपरिषद्को बैठकबाट अध्यादेश फिर्ता लिने अपेक्षा गरिएपनि सामान्य छलफल समेत भएको थिएन । अध्यादेश फिर्ता लिन ढिलाइ भएपछि नेकपाभित्रको ओली इतर समूह चिढिन पुगेको छ । आजै प्रचण्ड–माधव नेपाल समूहको भेला समेत राजधानीमा भएको थियो ।
प्रधानमन्त्री ओलीले गत मंगलबार संवैधानिक आयोगमा पदाधिकारी नियुक्तिमा सजिलो हुनेगरी अध्यादेश ल्याएका थिए । पार्टीभित्र कुनै छलफल नगरीकन अध्यादेश ल्याएपछि नेकपाभित्र हंगामा भएको थियो भने बहुमत सचिवालय सदस्य विपक्षमा उभिनुका साथै चौतर्फी दबाब परेपछि उनी सो अध्यादेश फिर्ता लिन बाध्य भएका थिए । तर उनले स्थायी समितिको निर्णय कार्यान्वयनमा समेत अलमल गरेर नयाँ अड्को थापेको नेकपाका नेताहरु बताउँछन् ।