
गुल्मीको रेसुङ्गा नगरपालिका १३ दुबिचौरमा अटो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
दुर्घटनामा चार जना घाइते भएका छन् । शुक्रबार राति गुल्मी दरवार गाउँपालिकाको गैँडाकोटबाट तम्घासतर्फ आउदै गरेको लु १ ह २७४३ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटनामा परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३७ गुल्म हेड क्वार्टर गुल्मीका सशस्त्र प्रहरी नायव उपरिक्षक अशोक कुमार लम्सालले जानकारी दिए ।
अटो दुर्घटनामा चालक रेसुंगा नगरपालिका १२ का बर्ष ३० का तेज बहादुर राना उपचारको क्रममा तम्घासमा मृत्यु भएको छ भने रेसुंगा नगरपालिका १२ का बर्ष १७ का रमेश खत्री, रेसुंगा नगरपालिका २ बस्ने बर्ष १६ का रोशन परियार, सोहि स्थानका बर्ष १८ का सुरज बिक र बर्ष १७ का सुनिल बिक घाइते भएको सशस्त्र प्रहरी नायव उपरिक्षक लम्सालले बताए ।
अटो सडकबाट अन्दाजी २ सय मिटर तल खसेको छ । घाइतेहरुको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३७ गुल्म हेड क्वार्टर गुल्मीका सशस्त्र प्रहरी निरिक्षक नारायण प्रसाद सेढाईँको कमाण्डमा खटिएको ११ जना सुरक्षाकर्मीको टोलीले दुर्घटनाका घाइतेहरुको उद्धार गरेको थियो ।