
रूपन्देहीको भैरहवाका पुराना व्यवसायी हुन् राधेश्याम हलवाइ । उमेरले ७० वर्षमा पुगिसकेका राधेश्याम भैरहवा (सिद्धार्थनगर) मा पहिलो पटक पेडा (दूधबाट बन्ने मिठाई) उत्पादन गरी बिक्री गर्ने व्यापारी हुन् ।
उनै राधेश्यामले भैरहवा र पवनको पेडालाई पर्यायवाची जस्तै बनाएर शुरू गरेको व्यापार अहिले देशविदेशसम्म पुग्न थालेको छ ।
आजभन्दा ५३ वर्षअघि (२०२५ सालमा) राधेश्यामले सिद्धार्थनगर–५ मैत्रीपथस्थित सानो छाप्रोमा २ वटा कराईबाट दूध घोटेर शुरू गरेको पेडा उत्पादन र व्यापार अहिले देशविदेशमा पुग्नुका साथै पवनको पेडा एउटा नेपाली ब्राण्ड बन्न पुगेको छ । भैरहवामा सबैसँग परिचित राधेश्याम अहिले बिरामी छन् ।
उनले शुरू गरेको ‘पवनको पेडा’ अहिले देशका प्रमुख शहरमा शाखा विस्तार गर्दै लुम्बिनीमा पाँचतारे (फाइभ स्टार) होटल समेत सञ्चालन गर्ने अन्तिम तयारीमा छ । पेडा बिक्री गरेरै पवन प्यालेस नाम दिइएको फाइभ स्टार होटलमा हलवाइ परिवारले २ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको छ ।
भैरहवाको पवन मिष्ठान्न भण्डारमा बन्ने पेडा अहिले देशविदेशमा कोशेली बन्ने गर्छ । राधेश्यामले थालेको पेडा पसल परिवारले गरेको मेहनत र लगनशीलताले शिखरतर्फ लम्किएको राधेश्यामका छोरा पवनकुमार हलवाइ बताउँछन् ।
पेडा व्यवसायले हलवाइ परिवारलाई काम, दाम र नाम सबै दिएपछि पुस्तान्तरण हुँदै गएको छ । हलवाइ परिवार साविक रुपन्देहीको वसन्तपुरका स्थानीय हुन् ।
दूधबाट बन्ने मिठाईमा पेडालाई सबैभन्दा राम्रो मिठाईका रूपमा लिइन्छ । दूधको खुवा बनाई त्यही खुवाबाट पेडा बन्छ । एउटा छाप्रोबाट शुरू भएको पेडाको व्यापारले ५ दशकसम्म पूरा गर्दा ७ करोड रुपैयाँको लागतमा लिफ्ट सहितको ६ तले आधुनिक विशाल भवनमा परिणत भइसकेको छ । अहिले पवनको लगानी ३ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ ।
राधेश्यामले भैरहवाका गाउँगाउँबाट विक्रीका लागि आउने दूधबाट पेडा बनाउन थालेका थिए । राधेश्यामले उनका हजुरआमाबाट पेडा बनाउन सिकेका थिए । उनले बनाएको पेडाले भैरहवामा सबैको मन जित्यो । भारतका विभिन्न ठाउँबाट आउनेहरू पनि राधेश्यामले बनाएको पेडा खान आउन थाले । त्यसपछि हलवाइ परिवारले पेडालाई आफ्नो ‘प्रोफेसन’ बनाएर उत्पादन गर्न जुटेको पवनले बताए ।
पेडा बनाउन दूध घोटेर बाक्लो भएपछि उपयुक्त समयमा चिनी हालिन्छ र सुकाएर राखिन्छ । त्यसपछि डल्लो पारिन्छ । दूध र चिनीबाहेक केही प्रयोग गरिँदैन । ‘हाम्रो हजुरबुवा मिठाई व्यापार गर्नुहुन्थ्यो रे ! बुवा त्यसैलाई सिको गरेर पेडातर्फ लाग्नुभयो । हामी पनि त्यसैलाई निरन्तरता दिँदै फाइभ स्टार होटलसम्म पुग्यौं,’ पवनले भने ।
विना मिसावट शुद्ध दूधबाट उत्पादन हुने गुणस्तरीय भएकाले नै पवनको पेडा देशविदेशमा नाम राख्न सफल भएको पवन दाबी गर्छन् । ‘हाम्रो मिठाईमा पुर्ख्यौली स्वाद छ । १०–१५ वर्षअघि पेडा खाएकाहरूले अहिले खाँदा पनि स्वादमा कुनै फरक छैन,’ उनले भने । पवनमा दूधमलाई, काला जामुन, रसबरी, बरफी लगायत ३० थरिका मिठाई बन्छन् तर पनि सबैभन्दा लोकप्रिय पेडा नै हो ।
अहिले पनि दैनिक ७०० लिटर दूधबाट पेडा बनाउँदै आएको पवन बताउँछन् । गाईभैसीको शुद्ध दूधबाट तयार पारिएका पेडा रंगरहित र रसायनरहित भएको दाबी गरिन्छ । पवनका शाखाहरू बुटवल अमरपथमा, काठमाडौंमा पवन स्वीट हुँदै लुम्बिनीमा पवन प्यालेस बनेको छ । अन्य शहरमा पनि आवश्यकता अनुसार शाखा थप्दै जाने तयारीमा रहेको पवन बताउँछन् ।
राधेश्यामका ३ छोरा हुन् । जेठा छोरा पवनको नामबाट पसलको नाम राखिएको छ । पवनले अहिले व्यवसायको सम्पूर्ण व्यापार हेर्ने गर्छन् । माइला छोरा डा. हेमन्त भैरहवाकै युनिर्भसल मेडिकल कलेज एण्ड साइन्सेज (यूसीएमएस) मा चिकित्सक छन् । कान्छा न्यूजिल्यान्डमा बसेर व्यवसाय गर्दै आएका छन् ।
पवनमा भूइँमान्छेदेखि उच्च आर्थिक हैसियत भएका वर्गसम्मका ग्राहक पनि पेडा खान र लैजान पुग्छन् । पवन खाद्य सामग्रीले जो कोहीलाई पनि आकर्षित गर्छन् । पसललाई समयको माग अनुसार परिमार्जित गर्दै आएको पवन बताउँछन् । पवनमा विश्वकर्मा पूजा, तिहार र छठ पर्व लगातयका नेपालका महत्त्वपूर्ण पर्वमा पेडा पुर्याउन हम्मेहम्मे पर्ने गर्छ ।
पवनका छोरा पल्लव हलवाइ पनि ‘बिजनेश म्यानेजमेन्ट’मा भारतबाट अध्ययन पूरा गरी पवन प्यालेसको व्यवस्थापन हेर्ने गर्छन् । उनी भन्छन्, ‘बुवा हजुरबुवाले चलाएको व्यवसायलाई छाडेर अन्यत्र मोडिन सकिनँ । जसले हामीलाई बनायो, उही क्षेत्र छोड्न सकिनँ । यही क्षेत्रमा बिडो थाम्दैछु भन्दा पनि हुन्छ । हाम्रो ब्राण्डलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने मेरो भिजन छ ।’
पवन प्यालेस अबको ६ महिनाभित्र सञ्चालनमा आउँदैछ । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि पवनका उत्पादनहरू सिधै विदेशसम्म पुर्याउने हलवाइ परिवारको सोच छ ।
पल्लवले लोकान्तरसँग भने, ‘नेपाल सोच, विदेश होइन । यही केही गर्ने र नेपालकै विकास गरी विश्व शान्तिको मुहान लुम्बिनीमा बढीभन्दा बढी आन्तरिक र बाह्य पर्यटक भित्र्याउने योजना छ ।’ पल्लव भैरहवामा अहिले युवा उद्यमीका रूपमा चिनिन्छन् ।