३२ असार २०८३, बिहीबार

रोकिएन भारत पस्नेको लर्को

पुस ५, २०७७
रोकिएन भारत पस्नेको लर्को
तस्वीर सौजन्य : कान्तिपुर दैनिक

शीतलहरले केही दिनयता पश्चिम तराईमा चिसो निकै बढेको छ । पारिपट्टि भारतमा पनि चिसो उस्तै छ । भारत सरकारले त चिसोका कारण घर बाहिर ननिस्कन आग्रह गरेको छ । यस्तो कठ्यांग्रिँदो चिसोमा पनि नेपालीहरू धमाधम भारत गइरहेका छन् । कामको खोजीमा भारत पस्नेहरूको लर्को घटेको छैन ।

पिठ्युँमा फाटेको झोला । एकसरो लुगामाथि पातलै खालको ज्याकेट । कामको खोजीमा भारत जानेहरूको लाइनमा शुक्रबार सुर्खेतको चिंगाड–२ का ५५ वर्षीय पहले खड्का भेटिए । बिहान झिसमिसेमै नाका पुगेका उनी पारि पस्ने क्रममा नाम दर्ता गराउन लाइनमा थिए । उनी मजदुरी गर्न उत्तराखण्डको अल्मोडा जान गाउँलेहरूसँगै आएका हुन् ।

सानैदेखि अल्मोडातिर जाने गरेका उनी पछिल्लो केही वर्षदेखि घरमै थिए । कोरोना संक्रमणका कारण गाउँमा समेत कामकाज केही नपाइने अवस्था आएपछि उनी १० वर्षपछि फेरि अल्मोडा जान लागेका हुन् । ‘गाउँमा केही काम पाइएन, अलिअलि मजदुरी गरेको पनि ज्याला पाइएन,’ खड्काले भने, ‘फेरि पुरानै ठाउँमा जान थाले ।’

उनी जस्तै दैनिक सयौं जना कामको खोजीमा सिमला, देहरादुन, मन्सुरी, अल्मोडा र गढवाललगायतका क्षेत्रमा गइरहेका छन् । ‘चिसो भनेर के गर्नु, काम नगरी खान पाइँदैन,’ दैलेखको बिन्द्रासैनी–४ चामुण्डाका जीवन नेपालीले भने, ‘गाउँमा रेगुलर काम पाइँदैन, काम पाए पनि समयमा ज्याला पाइँदैन ।’ उनका गाउँका ६ जना युवाहरू मजदुरीकै लागि अल्मोडा जान लागेका हुन् । उनीहरू २५ देखि ३० वर्षका छन् । नेपाली डकर्मीको काम गर्छन् ।

अल्मोडामा घर बनाउने, सडकको पर्खाल बनाउनेलगायत विभिन्न काममा ज्यालादारीमा काम पाइन्छ । नियमित काम पाइने र ज्याला पनि समयमै पाइने भएकाले उनको समूह गाउँमै कहिलेकाहीँ पाइने काम छाडेर भारत जान लागेको हो । ‘लकडाउनमै जेठको महिना घर आएका हौं,’ नेपालीसँगै अल्मोडा जान लागेका सुरेन्द्र विकले भने, ‘सात/आठ महिना बेरोजगार बस्दा घर खर्च चलाउनसमेत गाह्रो भयो ।’ खेतीपाती पनि खासै छैन । अलिअलि भएको जमिनमा मंसिरमै गहुँ छरेपछि भारत जाने तयारी गरेको उनले बताए । दसैंतिहारको बीचमा केही समय गाउँमै मजदुरी गरेका थिए । तर ठेकेदार सम्पर्कविहीन भएर ज्याला नपाएपछि छाडेको उनले बताए ।

कैलालीको घोडाघोडी–१ सुख्खडका निसान सिंहले लकडाउनको अवधिमा घर फर्किंदा गाउँमै भैंसी वा बाख्रापालन सुरु गर्ने योजना बनाएका थिए । मजदुरी गरेर ल्याएको रकम र अलिकति ऋण काढेर व्यवसाय सुरु गर्ने उनको सोच थियो । तर, लामो लकडाउनले पैसा घरखर्चमै सकियो । ऋण पनि सहजै पाउने बाटो नभएपछि उनी फेरि भारत जान तयार भएका हुन् । ‘देहरादुनमा डुलेर लुगाकपडा बेच्ने काम गर्छौं,’ सिंहले भने, ‘दिनको पाँच/सात सय बचत हुन्छ ।’ उनी देहरादुनमा सात वर्षदेखि यही काम गरिरहेका थिए । लकडाउनपछि गत जेठमा घर फर्किएका हुन् ।

‘आफूसँग केही नभएपछि जे सोचे पनि गर्न नसकिने रहेछ,’ सुख्खडकै हरकसिंह धामीले भने, ‘लकडाउनका बेला घर फर्किंदा निकै दुःख पायौं, त्यतिबेला अब भारत जाँदैनौं भन्ने सोचेका थियौं, तर अहिले नगए भोकै परिने भइयो ।’ कान्तिपुर दैनिकमा भवानी भट्टले खबर लेखेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्