२५ जेठ २०८३, सोमबार

ऋण लिने बढे

पुस ५, २०७७
ऋण लिने बढे

आर्थिक गतिविधि चलायमान भएसँगै बैंक तथा वित्तीय संस्थामा कर्जा प्रवाह पनि बढ्न थालेको छ । अधिक तरलताका कारण ब्याजदर घटेको, व्यापार व्यवसाय बढ्न थालेको, निर्माणाधीन आयोजनाको काम सुरु भएकोलगायत ​कारण अर्थतन्त्र चलायमान बन्दै गएकाले कर्जा माग बढेको हो ।

लकडाउनका कारण गत साउनमा कर्जा प्रवाह ठप्पजस्तै थियो । सो अवधिमा लगानीमा रहेको कर्जा पनि असुली भएपछि असारको तुलनामा साउनमा कुल कर्जा करिब १७ अर्ब रुपैयाँ घटेको थियो । सरकारले लकडाउन केही खुकुलो बनाएपछि भदौदेखि बढ्न थालेको कर्जा प्रवाहमा असोजमा राम्रो वृद्धि देखिएको थियो । यसअनुसार भदौमा मात्र बैंक तथा वित्तीय संस्थाले थप ३४ अर्ब र असोजमा १ खर्ब १३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

कात्तिक र मंसिरमा कर्जा प्रवाह झनै बढेको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले गत कात्तिकमा थप १४ अर्ब ६१ करोड रुपैयाँ र मंसिरमा ८१ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यससँगै गत मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह ३५ खर्ब १० अर्ब ४१ करोड रुपैयाँ र निक्षेप ४१ खर्ब ४६ अर्ब ७० करोड रुपैयाँ छ । पछिल्ला महिनामा कर्जा प्रवाहको वृद्धि राम्रो रहेको बैंकरहरूले बताएका छन् । ‘कर्जाको माग सामान्य अवस्थामा जस्तै छ,’ बैंकर्स संघका अध्यक्ष भुवन दाहालले भने, ‘पर्यटनबाहेक सबै क्षेत्रबाट कर्जाको माग आइरहेको छ । मल्टिपल प्रकृतिकै कर्जा माग धेरै छ ।’ अहिले निर्माणाधीन परियोजनासँगै नयाँ व्यवसाय, परियोजनाबाट पनि कर्जाको माग बढेको उनले बताए । ‘नयाँनयाँ क्षेत्रबाट कर्जा माग भएको छ, त्यत्तिकै परिमाणमा प्रतीतपत्र (एलसी) पनि खुलेका छन्,’ उनले भने ।

ब्याजदर कम हुनु, बैंकबीच कर्जा खरिद (स्वाप) बढ्नु, पुरानै मूल्यांकनका आधारमा थप २० प्रतिशत चालु पुँजी कर्जा प्रवाह गर्न पाइनुलगायत कारण बैंक तथा वित्तीय संस्थामा कर्जा माग बढेको कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायको भनाइ छ ।

‘अहिले कृषि कर्जाको वृद्धि पनि निकै राम्रो छ,’ उनले भने, ‘असारयता गत मंसिरसम्म कृषि विकास बैंकले मात्र करिब साढे ४ अर्ब रुपैयाँ बराबर थप कर्जा विस्तार गरेको छ,’ उनले भने । कर्जा र निक्षेपको ब्याज अन्तर (स्प्रेड) घटाउनुपर्ने राष्ट्र बैंकको निर्देशन र अधिक तरलताका कारण कर्जाको ब्याजदर घटेको र यसले उद्योगी व्यवसायीलाई उत्साहित बनाएको उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताए । ‘खासगरी पर्यटन, होटल, शिक्षालगायत क्षेत्रबाहेकका क्षेत्रमा आर्थिक गतिविधि बढेको छ,’ उनले भने, ‘उद्योगहरूको रिकभरी राम्रो छ । यसकारण पनि कर्जाको माग बढेको हो ।’ तुलनात्मक रूपमा अहिले उत्पादनशील क्षेत्रमा कम कर्जा प्रवाह भएको देखिन्छ, बिस्तारै उत्पादनमूलक क्षेत्रमा पनि कर्जा प्रवाह बढ्नुपर्ने उनको भनाइ छ । वित्तीय प्रणालीमा अझै पनि अधिक तरलता रहेकाले त्यसको उचित व्यवस्थापन गर्नुपर्ने उनको सुझाव छ ।

सेयर बजारमा आएको बढोत्तरीसँगै बैंक तथा वित्तीय संस्थाको ठूलो कर्जा मार्जिन लोन (सेयर कर्जा) मा गएको जानकार बताउँछन् । उनीहरूका अनुसार व्यक्तिगत ओभरड्राफ्ट र रियल इस्टेट क्षेत्रमा गएको केहीकेही कर्जा पनि सेयर बजारमा गएको राष्ट्र बैंकको अनुमान छ । यही कारण राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत व्यक्तिगत ओभरड्राफ्ट र सेयर धितो कर्जामा कडाइ गरेको छ । कोभिडले सिर्जना भएको असहज परिस्थिति बिस्तारै सामान्य बन्दै गएकाले आर्थिक गतिविधि बढ्न थालेको र कर्जा प्रवाहमा पनि त्यसको सकारात्मक प्रभाव परेको राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलको भनाइ छ । ‘अधिक तरलता कायमै रहेकाले ब्याजदरमा कमी आएको छ,’ उनले भने, ‘यस्तो अवस्थामा कर्जा अनुत्पादक तथा जोखिमयुक्त क्षेत्रमा नजाओस् भन्नेमा हामी सचेत छौं ।’

मंसिर २ सम्म वित्तीय प्रणालीमा १ खर्ब २४ अर्ब रुपैयाँ अधिक तरलता छ । यो बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा राख्नुपर्ने अनिवार्य नगद मौज्दात (सीआरआर) बाहेकको रकम हो । यो रकम बैंक तथा वित्तीय संस्थाले सबै लगानी गर्न पाउँछन् । बैंक तथा वित्तीय संस्थामा कर्जाको माग बढे पनि अपेक्षित रूपमा अधिक तरलतामा कमी आएको छैन । करिब एक महिनाअघिसम्म पौने २ खर्ब हाराहारीमा रहेको अधिक तरलता करिब सवा खर्ब रुपैयाँमा झरेको छ । तर बैंक तथा वित्तीय संस्थामा कर्जा प्रवाह बढेर अधिक तरलता घटेको होइन ।

सानो परिमाणमा कर्जा प्रवाह बढेको भए पनि राष्ट्र बैंकले बजारबाट पैसा उठाएकाले अधिक तरलतामा कमी आएको हो । अधिक तरलता व्यवस्थापनका लागि अनेक प्रयास गरिएको राष्ट्र बैंकले दाबी गरेको छ । यसअनुसार गत असोजसम्म ९० अर्ब रुपैयाँ बजारबाट उठाएको थियो । तर यो पैसा बजारमा आइसकेको छ । त्यसपछि फेरि करिब ७२ अर्ब रुपैयाँ बजारबाट झिकिएको हो । कान्तिपुर दैनिकमा यज्ञ बञ्जाडेले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्