
महानायक राजेश हमालले हालको अवस्थामा कुनैपनि चलचित्रमा साइन नगरेको प्रतिक्रिया दिएका छन् ।
लोकान्तरसँग भएको संक्षिप्त भेटमा उनले भने, ‘मैले यसअघि पनि भनिसकेको छु, कोरोनाको महामारी अझै सकिएको छैन । चलचित्र उद्योग चलायमान नहुँदासम्म त्यो सोच्न सक्ने कुरा पनि भएन ।’
त्यसो त हमालले विभिन्न चलचित्रको प्रस्ताव आइरहेको र त्यसका लागि भने भेटघाट भइरहेको बताएका छन् । तर, निर्माता–निर्देशकहरुसँग भेटघाट भइरहे पनि चलचित्रमा काम गर्छु भनेर मौखिक बचन भने नदिएको उनको भनाई छ ।
हमालले हालै चलचित्र ‘सत्यम’मा अभिनयसँगै निर्देशनको जिम्मा लिएको समाचार निकै भाइरल भएको छ । सत्यमको प्रस्ताव हमालसमक्ष पुराउनेहरूले हमालले यो चलचित्रमा काम गर्ने पक्का भएको बताएका छन् । उनीहरुले मिडियामा समेत हमालले चलचित्र साइन गरिसकेको भनेका छन् । तर, हमालले यस विषयमा भने, ‘मैले सत्यम निर्देशन गर्न लागेको कुरा सत्य होइन ।’