२१ जेठ २०८३, बिहीबार

जनतासँग क्षमायाचना गर्दै भोट माग्न ओलीको निर्देशन

जनतासँग क्षमायाचना गर्दै भोट माग्न ओलीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको कारणसहित जनतामाझ चुनावमा जान आफूनिकट निवर्तमान सांसदहरूलाई निर्देशन दिएका छन् ।

सोमवार बालुवाटारमा भएको छलफलमा ओलीले राष्ट्रपतिमाथि नै महाभियोगको तयारीका भएकाले आफूले संसद विघटन गर्नुपरेको प्रष्टीकरण दिएका थिए ।

नेकपाकी केन्द्रीय सदस्यसमेत रहेकी निरुदेवी पालले सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै नयाँ चुनावमा जान ओलीले आफूहरूलाई निर्देशन दिएको बताइन् ।

'पार्टी एकतालाई पनि अगाडि बढाउन सकिएन, सरकारलाई पनि सहयोग भएन । सुखी नेपाली, समृद्ध नेपालको वाचा पनि पूरा गर्न सकिएन,' ओलीले ब्रिफिङ गर्दै आफूनिकट नेताहरूसँग भने, 'प्रधानमन्त्रीलाई पनि फाल्ने र राष्ट्रपतिलाई पनि महाभियोग लगाउने तयारी भएपछि संसद विघटनको निर्णय लिइएको हो ।'

ओलीले संसद विघटनको कारणसहित जनतामा जान सबैलाई निर्देशन दिएका थिए । 'हामीले जनतासँग क्षमा याचना गर्दै मत माग्नेछौं,' ओलीको भनाइ उदृत गर्दै अर्का एक पूर्वसांसदले लोकान्तरसँग भने, 'नयाँ नक्सा जारी गरेबापत जसरी दण्डित गर्न खोजिएको छ, त्यो स्वीकार्य छैन ।'

भेलामा पूर्वमाओवादी तर्फका लेखराज भट्टले पनि सम्बोधन गरेका थिए । 'हामी अब जनतामा जानुपर्छ, जसरी सरकारको हात बाँध्ने काम भयो, त्यो गलत छ । संसद विघटन गर्ने सरकारको निर्णय र राष्ट्रपतिद्वारा गरिएको अनुमोदनको बचाउमा लाग्नुहोस्,' भट्टलाई उदृत गर्दै भेलामा सहभागी ती सांसदले भने ।'

बुधवारका लागि बोलाइएको केन्द्रीय कमिटी बैठकमा नजानसमेत ओलीले आफूनिकट नेताहरूलाई निर्देशन दिएका छन् ।

'हामी कुनै एउटा अध्यक्षले बोलाएको बैठकमा जाँदैनौं,' पालले भनिन्, 'दुवै अध्यक्ष सहमत भएर बोलाइने हो भने जान्छौं ।'

salt training

कमेन्ट गर्नुहोस्