२५ जेठ २०८३, सोमबार

मेरो स्वास्थ्य ठीक छ, यो सबै परिस्थितिलाई पार लगाउँछु : केपी ओली

मेरो स्वास्थ्य ठीक छ, यो सबै परिस्थितिलाई पार लगाउँछु : केपी ओली

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सबै परिस्थितिलाई पार लगाउन आफू सक्षम रहेको बताएका छन् ।

उनले चुनाव नै एक मात्र निकास भएको भन्दै चुनावको तयारीमा लाग्न प्रतिनिधि सभाका पूर्व सांसदलाई निर्देशन दिएका छन् ।

ओलीले संसद पुनःस्थापनाको सम्भावना नभएको भन्दै चुनावको तयारीमा जुट्न नेताहरूलाई निर्देशन दिए । 

प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार आफूनिकट पूर्व सांसदहरूको भेलालाई सम्बोधन गर्दै ओलीले पार्टीकै नेताहरू सरकारविरुद्ध लागेका कारण प्रतिनिधिसभा विघटनको अवस्था आएको बताएका हुन् ।

‘अहिले मेरो स्वास्थ्य ठीक छ, यो सबै परिस्थितिलाई पार लगाउँछु । तपाईंहरू ढुक्क भएर चुनाव तयारीमा लाग्नुस्,’ ओलीको भनाइ उदृत गर्दै राष्ट्रिय सभाका सांसद खिमलाल भट्टराईले लोकान्तरसँग भने । 

प्रधानमन्त्री ओलीले नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरणलाई शक्ति आर्जनको दाउपेचको रूपमा लिएको बताए । ‘प्रचण्डले पार्टी एकतालाई सधै शक्ति आर्जन र दाउपेचको रूपमा लिनुभयो । सरकार गठन भएदेखि समस्या सिर्जना गर्दै आउनुभयो । सरकारको विरोध गर्ने, सरकारलाई कमजोर बनाएर शक्ति आर्जन गरेर सत्ता कब्जाको लाग्नुभयो,’ ओलीको भनाइ उदृत गर्दै सहभागी अर्का एक सदस्यले भने, ‘पार्टी एकताभन्दा पनि आफू सुदृढ हुने कुरामा लाग्नुभयो । सरकारलाई काम गर्न नदिने, संसदलाई दुरुपयोग गर्ने, संसदलाई पनि काम गर्न नदिने आएपछि बाध्यात्मक कदम चालिएको हो ।’ 

सम्बोधनका क्रममा ओलीले प्रचण्डले राजनीतिक बेइमानी गरेको बताए । ‘हाम्रा साथीहरूलाई प्रचण्डले ललिपप देखाएर लगेका छन्, तारा झारिदिने आश्वासन दिएका छन्, तारा त त्यस्तै हो, भोलि बंगारा झारेर रोडमा पठाउँछन्, हेर्दै जानुहोला,’ ओलीको भनाइ उदृत गर्दै बैठकमा सहभागी एक पूर्व सांसदले लोकान्तरसँग भने । 

भेलामा पूर्व माओवादी खेमाका नेता एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारले राम्रो काम गरिरहेको समयमा प्रचण्डले सरकारलाई अप्ठ्यारो पार्ने काम गरेको आरोप लगाए । 

‘कम्युनिस्ट पार्टीको नेतृत्वको सरकारले राम्रो काम गर्दै अगाडि बढेको समयमा सरकार गिराउने खेल भए, कम्युनिस्ट आन्दोलनको लागि र देशलाई सही दिशा दिनको लागि अहिले ओलीको नेतृत्वको विकल्प छैन,’ भट्टको भनाई उदृत गर्दै बालुवाटार भेलामा सहभागी एक सांसदले भने, ‘तपाईं नेतृत्व गर्नुस्, हामी सबैको साथ र समर्थन हुन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्