२९ जेठ २०८३, शुक्रबार

पार्टी एकताको ३१ महिनापछि फुटको संघारमा नेकपा, चुनाव चिन्ह हत्याउने दुवै पक्षको दाउ

केन्द्रीय समितिबाट एकअर्कालाई कारवाही गर्ने ओली–प्रचण्डको तयारी
पार्टी एकताको ३१ महिनापछि फुटको संघारमा नेकपा, चुनाव चिन्ह हत्याउने दुवै पक्षको दाउ


तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकीकरण भइ गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको संघारमा पुगेको छ । चुनावी तालमेल गरेको एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते औपचारिकरुपमा एकीकरण घोषणा भएको थियो ।

एकीकरणको ३१ महिनापछि देशको सबभन्दा ठूलो दल विभाजनको संघारमा पुगेको छ । पार्टी विभाजनको प्रयास लामो समयदेखि हुँदै आएपनि प्रतिनिधिसभा विघटन नै नेकपा विभाजनको कारण बन्ने देखिएको छ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले हठाट प्रतिनिधिसभा विघटन गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्ष आक्रोशित बन्न पुग्यो ।  

पार्टी विभाजनको गृहकार्यस्वरुप ओली र प्रचण्ड पक्षले मंगलवारका लागि छुट्टाछुट्टै केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । पार्टी विभाजनको पूर्वसंकेतस्वरुप ओली–प्रचण्ड पक्षले सोमवार सांसदहरुको समानान्तर भेला गरे । आफू पक्षीय भेलामा दुवै पक्षले अहिलेको संकट आउनुमा एक अर्कालाई दोषारोपण गरे ।

प्रधानमन्त्री निवास बालुवाटारमा ओली पक्षले सोमवार बिहान आफू पक्षीय सांसदहरुको भेला आयोजना गरेका थिए । भेलालाई सम्वोधन गर्दै प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले प्रचण्डले पार्टीमा विग्रह ल्याएको आरोप लगाएका थिए । ओलीले पूर्व एमालेहरु एकजुट हुनुपर्ने बताएका थिए । आफू पक्षीय नेताहरुलाई उत्साहित बनाउन ओलीले आफू स्वस्थ भएको र परिस्थितीलाई सम्हाल्न तयार रहेको बताएका थिए । उनले आगामी चुनावमा पनि आफ्नै नेतृत्वमा जाने र बहुमत ल्याउने बताएका थिए । यतिमात्र होइन ओलीले नेताहरुलाई गाउँगाउँमा पुगेर माहोल बनाउन निर्देशन दिन समेत भ्याए ।
यसैगरी सोमवार दिउँसो प्रचण्ड पक्षले संसद् भवनको ल्होत्से हलमा सांसदहरुको भेला आयोजना गरेको थियो । ‘संसदीय दलको बैठक’ दावी गरिएको भेलामा प्रचण्डले ओली पक्षले पार्टी विभाजनको गृहकार्य गरेको आरोप लगाएका थिए ।

मंगलवार ओली पक्षले बिहान ९ बजे बालुवाटारमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ भने प्रचण्ड पक्षले दिउँसो १ बजे एउटा पार्टी प्यालेसमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ । दुवै पक्षका केन्द्रीय सदस्यहरुसँग कुरा गर्दा एकले अर्को पक्षलाई कारवाही गर्ने तयारी गरेको स्पष्ट संकेत देखिन्छ ।
प्रचण्ड समूहले ओलीमाथि अनुशासनको कारवाही गरेर निर्वाचन आयोगमा पत्र समेत पठाइसकेको छ । प्रतिनिधि सभा विघटनपछि आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रचण्ड पक्षीय नेताहरुको स्थायी कमिटी बैठकले ओलीमाथि अनुशासनको कारवाही गर्न केन्द्रीय समितिमा सिफारिस गर्ने निर्णय गरेको थियो । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार ओलीमाथि सिफारिश गरिएको अनुशासनको कारवाही बारे केन्द्रीय कमिटीमा छलफल हुनेछ ।
मंगलवार बस्ने प्रचण्ड पक्षको केन्द्रीय कमिटी बैठकले ओलीलाई कार्वाही गर्ने तयारी गरेको छ । त्यो भन्दा अगावै ओली पक्षले प्रचण्डमाथि कारवाही गर्ने सम्भावना छ । सोमवार सांसदहरुको भेलामा प्रचण्डले ओलीमाथि भोलि अनुशासनको कारवाही गर्ने जानकारी गराएका सो भेलामा सहभागी एक नेताले जानकारी दिए । प्रचण्ड समूहले ओलीमाथि अनुशासनको कारर्वाही सिफारिश गरेपछि प्रचण्डमाथि कारवाही गर्न ओली समूहलाई बाटो खुलेको छ ।
‘एकै दिन उस्तै समयमा केन्द्रीय कमिटीको बैठक राख्नुको अर्थ अब पार्टी एउटै रहेन भन्ने संकेत हो’ नेकपाका एक केन्द्रीय सदस्यले लोकान्तरसँग भने । नेकपा विवाद प्रदेश तहसम्म पुगिसकेको छ । ओली पक्षले मंगलवार काठमाडौंमा बाग्मती प्रदेश कमिटी स्तरीय भेला बोलाएको छ । सो भेलालाई प्रचण्ड–माधव नेपाल पक्षका इन्चार्ज अष्टलक्ष्मी शाक्य र अध्यक्ष नारायण दाहालले विज्ञप्ति प्रकाशित गरेर अवैधानिक भेला भनेका छन् ।

एकले अर्कोलाई कारवाही गरेपछि पार्टीको मूलधार को हो भन्ने विवाद उत्पन्न हुनेछ । यो विवाद निर्वाचन आयोग हुँदै अदालतसम्म पुग्न सक्छ । सोमवार लमजुङमा पूर्व एमाले पक्षले आफ्नो कार्यालय प्रयोग गर्न नदिने भन्दै पूर्व माओवादी पक्षका पदाधिकारीलाई पार्टी कार्यालय छाड्न चेतावनी दिएको घटना बाहिरिएको छ ।

चुनाव चिन्ह आफ्नो पक्षमा पार्नको लागि दुवै पक्षले कसरत गरेको छ । लोकप्रिय मानिएको सूर्य चुनाव चिन्ह आफ्नो पक्षमा पार्नको लागि नेकपाको दुवै पक्षले प्रयास गरिरहेको छ । प्रधानमन्त्री ओली पक्ष सूर्य चिन्ह आफ्नो पक्षमा पार्ने कसरतमा छ । यसअघि एमालेलाई चुनाव जिताएको परिचित सूर्य चिन्ह लिएर चुनावमा जाँदा जनमत आफ्नो पक्षमा पार्न सहज हुने ओली पक्षको आँकलन छ ।
विगतमा नेपाली कांग्रेस विभाजन हुँदा चुनाव चिन्ह सम्बन्धी विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्