
महाकालीपारि दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणका लागि फेरि अध्ययन प्रक्रिया सुरु भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको इन्टरमोडल यातायात विकास समितिले दोधारा चाँदनी नगरपालिका–१ को मायापुरी सामुदायिक वन र वडा नम्बर २ को गौरीशंकर सामुदायिक वनमा क्षेत्रमा अध्ययन थालेको हो ।
‘हामीले सुक्खा बन्दरगाहका लागि सम्भाव्यता अध्ययनको तयारी थालेका छौं,’ बन्दरगाहका लागि प्रस्तावित स्थलको अवलोकनपछि महेन्द्रनगरमा पत्रकारहरूसँगको छलफलमा इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले भने, ‘नयाँ प्रस्तावित ठाउँको सम्भाव्यता अध्ययनसंँगै अन्य प्रक्रिया क्रमिक रूपमा अघि बढ्नेछन् ।’
दोधारा चाँदनी नगरपालिकाको कञ्जभोजमा सुक्खा बन्दरगाहका लागि १० वर्षअघि विश्व बैंकले र चार वर्षअघि मात्रै इन्टरमोडल यातायात विकास समितिले सम्भाव्यता अध्ययन गरेको थियो । उक्त क्षेत्रमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाललगायत मन्त्रीले पटकपटक भ्रमणसमेत गरिसकेका छन् । पछिल्लो पटक कञ्जभोजमा हुने भनिएको सुक्खा बन्दरगाह वडा नम्बर १ को मायापुरी र वडा नम्बर २ को गौरीशंकर सामुदायिक वनमा बनाउन अध्ययन सुरु भएको हो ।
यसअघि असोज तेस्रो साता उद्योग वाणिज्य मन्त्रालयले सहसचिव प्रकाश दाहालको नेतृत्वमा पनि सम्भाव्यता अध्ययनका लागि प्राविधिक टोली गठन गरेको थियो । टोलीले अध्ययन गरेर नयाँ प्रस्ताव गरिएको क्षेत्रमा सुक्खा बन्दरगाह बनाउन उपयुक्त हुने प्रतिवेदन तयार गरेको कार्यकारी निर्देशक गजुरेलले बताए ।
भवानी भट्टले कान्तिपुर दैनिकमा खबर लेखेकी छिन् ।