
दिनभरको रस्साकस्सी र समानान्तर बैठकहरूपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लगभग विभाजन भएको छ ।
यद्यपि यसको औपचारिक घोषणा भने दुवै पक्षले गरेका छैनन् । अझ कानूनीरूपमै विभाजन हुन भने केही समय लाग्ने देखिन्छ ।
अध्यक्ष केपीशर्मा ओली पक्षले अल्पमतकै बैठक बसेर केन्द्रीय सदस्यहरू थपेको छ भने त्यसको केही घण्टापछि प्रचण्ड-माधवकुमार नेपाल पक्षले ओलीलाई अध्यक्षबाट हटाएको छ ।
ओलीलाई हटाएपछि रिक्त अध्यक्ष पदमा माधव नेपाललाई नियुक्त गरिएको छ ।
बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बसेको केन्द्रीय कमिटी बैठकमा दुई तिहाइभन्दा बढी केन्द्रीय सदस्य सहभागी भएको उक्त पक्षको दाबी छ ।
ओलीले थपे ५ सय ५६ सदस्य
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा बदल्दै थप ५ सय ५६ जनालाई मनोनयन गरेका छन् ।

मंगलवार बिहान बालुवाटारमा आफूपक्षीय केन्द्रीय कमिटी बैठक राखेर ओलीले थप सदस्य मनोनित गर्ने निर्णय गरेका हुन् ।
उनीहरूमध्ये उपस्पथित सदस्यलाई शपथ ग्रहण पनि गराइएको छ । ओली पक्षले थपिएका सदस्यहरूको सूची मंगलवार नै निर्वाचन आयोगलाई बुझाएको छ ।
नारायणकाजीलाई हटाएर प्रदीप ज्ञवाली प्रवक्ता
बालुवाटारमा बसेको ओलीपक्षीय बैठकले नेकपा प्रवक्ता प्रदीप ज्ञवालीलाई तोकेको छ ।
नारायणकाजी श्रेष्ठ प्रकाशलाई प्रवक्ताबाट हटाएर श्रेष्ठलाई प्रवक्ता तोकिएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रचण्ड पक्षले ओलीलाई अध्यक्षबाटै हटायो
नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएको छ ।
बबरमहलस्थित कार्की ब्याङ्केटमा बसेको प्रचण्ड-नेपाल पक्षीय केन्द्रीय समिति बैठकले ओलीलाई अध्यक्षबाट हटाउने स्थायी कमिटीको प्रस्ताव पारित गरेको हो ।
बैठकमा दुईतिहाइ केन्द्रीय सदस्य उपस्थित भएको दाबी प्रचण्ड-नेपाल पक्षको छ ।

यसअघि सोमवार बसेको बहुमत स्थायी कमिटी सदस्यको बैठकले ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गर्दै सोसम्बन्धी प्रस्ताव केन्द्रीय कमिटी बैठकमा पठाएको थियो ।
प्रस्ताव पारित भएपछि प्रचण्डले अनुशासनको कारवाही स्वरूप ओलीलाई अध्यक्षबाट हटाइएको बताए ।
ओलीलाई हटाएपछि रिक्त स्थानमा माधवकुमार नेपाललाई पार्टी अध्यक्ष बनाउने निर्णय बैठकले गरेको छ ।
नेता नेपाललाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरिएको केन्द्रीय सदस्य चूडामणि जंगलीले जानकारी दिए ।
वरिष्ठ नेता झलनाथ खनालको प्रस्ताव तथा प्रचण्डको समर्थनमा नेपाललाई अध्यक्ष बनाइएको हो ।
वामदेव-बादल मौन
नेकपा उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा बादल नेकपाको कुनै पनि गुटको बैठकमा सहभागी भएनन् ।
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय समिति बैठकका लागि बालुवाटार नगएका दुई नेता प्रचण्ड-नेपाल पक्षको बैठकमा पनि गएनन् ।
गौतमले पार्टी एकतामा भूमिका खेलेकाले आफू विभाजनकारी कुनै गुटमा सहभागी नहुने बताउँदै आएका छन् ।

सचिवालय बैठकमा प्रचण्ड–नेपाल समूहमा रहेका गौतम पछिल्ला भेलाहरूमा उपस्थित भएका छैनन् ।
गौतमलाई फकाउन प्रचण्ड–नेपाल समूहका नेताहरू मंगलवार उनको निवास भैँसेपाटी पुगेका थिए ।
बादललाई फकाउन प्रचण्ड हिजो मन्त्री क्वार्टरमा गएका थिए ।
उनले पनि कित्ता क्लियर गरेका छैनन् । आफूपक्षीय नेताको भेलामा बादलले आफूले छिट्टै कित्ता क्लियर गर्ने बताएका थिए ।
बरु बादलले भैँसेपाटी पुगेर मंगलवार दिउँसो वामदेवलाई भेटेका थिए ।
नेकपाका बहुमत सांसद सर्वोच्चमा
प्रतिनिधि सभा विघटनविरुद्ध नेकपाका बहुमत सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
सांसदहरू देव गुरुङ, कृष्णभक्त पोखरेल लगायतले मंगलवार सर्वोच्च अदालत पुगेर रिट दायर गरेका हुन् ।

उनीहरूले प्रतिनिधि सभा विघटन गैरसंवैधानिक भएको दाबी गर्दै त्यसले आफूहरूलाई जनताले ५ वर्षका लागि दिएको म्यान्डेटको समेत अपमान गरेको जिकिर रिटमा गरेका छन् ।
प्रधानमन्त्री तथा राष्ट्रपतिको गैरसंवैधानिक कदमलाई उत्प्रेषणको आदेशबाट बदर गर्न रिटमा माग गरिएको छ ।