
पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा जारी गण्डकी प्रदेशस्तरीय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा कास्की विजयी भएको छ । कास्कीले तनहुँलाई ३१ रनले पराजित गर्दै लिग तालीकामा थप दुई अङ्क जोड्न सफल भयो ।
गण्डकी प्रदेश क्रिकेट सङ्घद्वारा गत पुस ३ गतेदेखि आयोजना गरिएको एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत जितका लागि १५५ रनको सामान्य लक्ष्य पछ्याएको तनहुँका ब्याट्म्यान कास्कीका दिपेश खत्रीको धारिलो बलिङ सामु टिक्न सकेनन् ।
खत्रीले १० ओभर बलिङमा पाँच मेडनसहित मात्र नौ रन खर्चिएर चार विकेट लिन सफल हुनुभएको थियो । जवाफी ब्याटिङमा उत्रिएको तनहुँले १२३ रनमात्र बनायो । टस जितेर मैदान उत्रिएको कास्कीले ४७ ओभरको पाँचौँ बलमा सम्पूर्ण विकेट गुमाउँदै १५४ रन बनाएको थियो । कास्कीका अर्जुन कुमालले ४३, अभिषेक थापाले ३५ तथा अमृत गुरुङले २० रनको योगदान दिए ।
तनहुँका समिर कँडेलले सर्वाधिक ४१ रन बनाए । कास्कीको बलिङमा सुवास भण्डारीले तीन विकेट लिए । तनुहँको बलिङमा दिनेशजङ्ग बुढामगरले तीन, राजु गुरुङले दुई तथा प्रवेश खड्का, करुण सिरमला र सचिन अधिकारीले समान एक÷एक विकेट लिए ।