०८ असार २०८३, सोमबार

आफूले रोजेको केटासँग विवाह नगरेपछि बहिनीको हत्या

पुस ८, २०७७
आफूले रोजेको केटासँग विवाह नगरेपछि बहिनीको हत्या
प्रतिकात्मक तस्वीर

आफैंले रोजेको केटासँग प्रेम विवाह गर्दा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईको हत्या भएको छ ।

पटक–पटक आफूले रोजेको केटासँग विवाह गर्न आग्रह गर्दै आएका ठूलो बुवाका छोरा सञ्जीव राईले बहिनी सकुन्तलाको हत्या गरेको खुलासा भएको हो । 

करीब ७ वर्षदेखि प्रेम सम्बन्धमा रहेकी सकुन्तलाले शुक्रवार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २६ वर्षीय दिनेश कटवालसँग प्रेम विवाह गरेकी थिइन् । विवाह गरेको ३ दिनपछि सोमवार दाजु सञ्जीवले बहिनी सकुन्तलाको घरैबाट उनलाई जंगलमा लगेर हत्या गरेको खुल्न आएको हो । 

हत्या हुनुभन्दा अघिल्लो राति दाजु सञ्जीवको फोनबाट पटक–पटक धम्की आइरहेको र बिहान आफैं हाम्रो घरमा आएर सकुन्तलालाई लगेर हत्या गरेको उनका पति दिनेशले बताए ।

‘हाम्रो घरायसी व्यवहार छ भन्दै दाजु सञ्जीवले सकुन्तलालाई साथैमा लगेर जानुभयो,’ उनले भने, ‘घरबाट हिँडेको केही समयपछि नै सकुन्तलासँग फोन सम्पर्क नभएपछि खोजतलास गर्दा सेखुवा र निर्मणलीडाँडाको सिमानामा पर्ने साप्सुखोला नजिकैको जंगलमा हत्या भएको अवस्थामा फेला पर्‍यो ।’ 

भिनाजुको घरबाट हिँडेको करीब १ घण्टामै दिदीको हत्या भएको हुनसक्ने सकुन्तलाका भाइ समीर राईले बताए । ‘दाजु सञ्जीवले दिदीलाई जंगलमा लगेर कुट्दै गरेको भेडा गोठालाले देखेका रहेछन्,’ उनले भने, ‘आफूले रोजेको केटासँग विवाह नगरी अर्कै केटासँग विवाह गरेको झोँकमा हत्या गरिएको छ । हत्यामा संलग्न दाजु सञ्जीवलाई कडाभन्दा कडा कारवाही गरियोस् ।’

विद्यालय तहको अध्ययन गर्दादेखि नै प्रेम सम्बन्धमा रहेका दिनेश वैदेशिक रोजगारीको सिलसिलामा ३ वर्ष मलेसिया बसेर हालै घर आएका थिए । भाइ समीरका अनुसार सकुन्तला प्रेमी दिनेश वैदेशिक रोजगारीको सिलसिलामा मलेशिया रहेको समयमा काठमाडौंमा सिलाइकटाइ पेशा गर्दै आएकी थिइन् ।  

केही समय अगाडि मात्रै माइतीघर सेखुवा आएकी सकुन्तलाले आफूसँग पनि दाजु सञ्जीवले ‘मैले रोजेको केटासँग विवाह गर्नुपर्छ’ भन्दै दबाब दिने गरेको जानकारी दिएको भाइ समिरले बताए । सकुन्तलासँग ३ दिन अघिमात्र विवाह गरेका दिनेशले पनि पत्नीको हत्यामा संलग्नलाई कडा कारवाही गर्न माग गरेका छन् ।

घटनामा संलग्न राईलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताए । ‘घटनाका बारेमा अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘हत्यारा नियन्त्रणमा रहेकाले केही समयपछि सत्यतथ्य सार्वजनिक गरिने छ ।’

दाजुको कुटाइबाट ज्यान गुमाएकी सकुन्तलाको शरीरको विभिन्न भागमा चोट तथा नीलडाम देखिएको आफन्तले बताएका छन् । उत्तिसको लाथ्रो (लौरो)ले हानेर हत्या गरिएकी सकुन्तलाको शव मंगलवार जिल्ला अस्पताल खोटाङमा परीक्षण गरेपछि माइती पक्षले जिम्मा लिएर दाहसंस्कार गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्