
म्याग्दीको धवलागिरि गाउँपालिकाले विशेष गाउँसभाबाट पालिकास्तरीय अस्पताल बनाउने ठाउँको टुंगो लगाएको छ ।
गाउँपालिकाको कार्यालय रहेको मुनामा मंगलवार सम्पन्न गाउँसभाले वडा नम्बर ७ को ताकममा ५ शय्या क्षमताको अस्पताल बनाउने सर्वसम्मत निर्णय गरेको हो ।
गाउँपालिकाका अध्यक्ष थमसरा पुनले अस्पताल बनाउने ठाउँको टुंगो लगाइनुका साथै यसअघि छरिएर राखिएका शाखा कार्यालय एकै ठाउँबाट सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए ।
वडा नम्बर ३ को सातमुलेमा गाउँपालिकाको स्थायी केन्द्र कायम गरेको विक्रम संवत् २०७४ साउन २५ गतेको गाउँसभाले अन्य विषयगत शाखा कार्यालय वडा नम्बर ७ र ३ बाट सञ्चालन गर्ने तथा वडा नम्बर ७ मा पर्ने धारापानीमा १५ शय्या क्षमताको अस्पताल बनाउने निर्णय गरेको थियो ।
‘३ वर्षअघिको निर्णय संशोधन भएपछि ताकममा अस्पताल बनाउने र शाखा कार्यालय गाउँपालिका रहेकै ठाउँबाट सञ्चालन गर्ने कानूनी बाटो खुलेको छ,’ अध्यक्ष पुनले भने, ‘यसअघि अस्पताल बनाउने निर्णय भएको धारापानीमा स्वास्थ्यचौकी बनाउने र साविक ताकम गाविसको १ र २ नम्बर वडामा पर्ने धारापानीलाई छुट्टै वडा कायम गर्न प्रक्रिया अघि बढाउने निर्णयसमेत भएको छ ।’
शाखा कार्यालय एकै ठाउँमा नहुँदा र छरिँदा नागरिकलाई सेवा प्राप्त गर्न सास्ती, झन्झट र दुःख भएको भन्दै गाउँसभामा कार्यालय एकीकृत गर्ने प्रस्ताव प्रस्तुत गरिएको थियो । वडा नम्बर १ गुर्जाका अध्यक्ष झकबहादुर छन्त्याल प्रस्तावक रहेका उक्त प्रस्तावमा गाउँसभाका ३७ मध्ये २२ जनाले पक्षमा मतदान गरेपछि बहुमतको आधारमा पारित भएको हो ।
सभाको निर्णयसँगै हाल ताकमबाट सञ्चालित स्वास्थ्य, कृषि र पशु सेवा तथा शिवाङमा राखिएको शिक्षा शाखा हाल गाउँपालिकाको अस्थायी कार्यालय रहेको मुनाबाटै सञ्चालन हुने भएका छन् ।
स्थायी केन्द्र कायम गर्ने क्रममा गाउँसभाले धारापानीमा १५ शय्याको अस्पताल बनाउने निर्णय गरे पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ताकममा अस्पताल बनाउने ठाउँ छनोट गरेपछि विवाद उत्पन्न भएको थियो । ठाउँको विवादले मंसिर १५ गतेलाई तय गरिएको अस्पताल शिलान्यास गर्ने कार्यक्रम रोकिएपछि सेवा केन्द्र एकीकृत र ताकममा अस्पताल बनाउने विषयमा सर्वपक्षीय बैठकको सुझावका आधारमा गाउँसभा बोलाइएको थियो ।
सर्वोच्च अदालतमा विचाराधीन रहेको गाउँपालिकाको स्थायी केन्द्रको विवादलाई थाँती राखेर नागरिकलाई एकै ठाउँबाट सहज हिसाबले सेवा उपलब्ध गराउन शाखा कार्यालय एकीकृत र अस्पताल बनाउने ठाउँ छनोट गरिएको अध्यक्ष पुनले बताए ।