०३ असार २०८३, बुधबार

श्रृङ्गी र कोया खोलामाथि बन्यो झोलुङ्गे पुल

पुस ८, २०७७
श्रृङ्गी र कोया खोलामाथि बन्यो झोलुङ्गे पुल
प्रतिकात्मक तस्वीर

उत्तरी गोरखाको विकट क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिकामा दुई झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ ।

वडा नम्बर ५ स्थित श्रृङ्गी र कोयाखोलामाथिको झोलुङ्गे पुल निर्माण सम्पन्न भएको गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए ।

पुल निर्माण भएसँगै श्रृङ्गी गुम्बा आउजाउका लागि अब स्थानीयले ३ घण्टा बढी लामो बाटो हिँड्नु नपर्ने भएको उनको भनाइ छ ।

‘श्रृङ्गीखोला माथि पुल नबन्दा वर्षौंदेखि यहाँका नागरिक श्रृङ्गी गुम्बा पुग्नका लागि ३ घण्टा घुमेर जानुपर्ने बाध्यता थियो,’ अध्यक्ष गुरुङले भने, ‘अब पुल बन्यो सबैलाई सजिलो भएको छ ।’ २ वटा पुल बनेपछि उत्तरी गोरखामा आउने पर्यटकका लागि यात्रा सहज हुने उनको भनाइ छ । 

नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्विस सरकारको सःशर्त अनुदानमार्फत १ करोड ९८ लाख ५० हजार ४८६ रुपैयाँमा पुल निर्माण सम्पन्न गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।

‘झोलुङ्गे पुल निर्माणका लागि गाउँपालिकालाई रकम प्राप्त भएको थियो,’ उनले भने, ‘उक्त रकमबाट २ वटा पुल निर्माण गरिएको हो ।’

उनका अनुसार श्रृङ्गी खोलामाथिको पुलका लागि ९९ लाख ५४ हजार २५३ रुपैयाँ र कोयाखोलामाथिको पुलका लागि ९८ लाख ९६ हजार २३३ रुपैयाँ खर्च भएको छ । दुवै पुल उपभोक्ता समितिमार्फत निर्माण सम्पन्न गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए ।

निर्माण सम्पन्न श्रृङ्गी पुलको लम्बाइ ११० मिटर र कोयाखोलामाथि निर्माण गरिएको पुल १२० मिटर लामो छ । दुवै पुलको मंगलवार एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष गुरुङ र श्रृङ्गी गुम्बाका प्रमुख टिल्कुकर्म लामाले उद्घाटन गरे ।

गुम्बाका प्रमुख लामाले पुल नबन्दासम्म भीरको बाटो भएर तलमाथि गुम्बा आउजाउ गर्नुपर्ने जोखिम भए पनि अब त्यसको अन्त्यमा भएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्