प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशमा प्रचण्ड–माधव नेपाल समूहबाट प्रदेश सरकार फेरबदलमा चलखेल भए थप कदम चाल्ने चेतावनी दिएका छन् ।
बुधबार एक टेलिभिजन अन्तर्वार्तामा उनले यथास्थितिमा प्रदेश र स्थानीय तहमा सबै मिलेर जानु उचित हुने बताए । ‘नत्र उहाँले कदम चाल्नुभयो भने मैले पनि थप कदम चाल्नुपर्छ’, ओलीले भने ।
नेकपाभित्रको विकसित पछिल्लो घटनाक्रमले प्रदेश सरकारमा असर पर्ने चर्चा भइरहेको बेला ओलीले यस्तो बताएका हुन् । उनले कस्तो कदम चाल्ने भन्नेबारे चाहिँ खुलाएनन् ।
‘मैले अहिले देशभर अस्तव्यस्तता सिर्जना गर्ने होइन । केन्द्रमा जनताको अभिमतलाई अस्वीकार गर्ने, जालझेल र कपटको सिलसिला गर्नेजस्ता तमासा देखाइएपछि जनतामा जानुपर्छ भनेर मैले यो निर्णय लिएको हो’, ओलीले संसद विघटन गर्नुको कारण खुलाउँदै भने ।