०६ असार २०८३, शनिबार

मेसीले उछिने पेलेको कीर्तिमान

पुस ९, २०७७
मेसीले उछिने पेलेको कीर्तिमान

लियोनल मेसी मंगलबार एउटै क्लबका लागि सर्वाधिक गोल गर्ने खेलाडी भएका छन् । उनको कीर्तिमानी ६ सय ४४ औं गोलको मद्दतमा बार्सिलोनाले स्पेनी ला लिगामा रियल भालाडोलिडलाई ३–० ले हराएको छ । यो गोलसँगै मेसीले पेलेलाई उछिने । यसअघि एउटै क्लबका लागि गरेको गोल कीर्तिमान ब्राजिली खेलाडी पेलेको नाममा थियो । पेलेले यो कीर्तिमान सान्तोसका लागि बनाएका थिए ।

अर्जेन्टिनी ३३ वर्षीय मेसीले शनिबारमात्रै भ्यालेन्सियाविरुद्ध गोल गर्दै पेलेको कीर्तिमानी गोलसँग बराबरी गरेका थिए । भालाडोलिडविरुद्ध भने उनले ६५ औं मिनेटमा टिमको तेस्रो गोल गरे । सन्तोसका लागि पेलेले ६ सय ६५ खेलमा ६ सय ४३ गोल गरे । मेसीले यही कीर्तिमान तोड्न ७ सय ४९ खेल खेले । तर मेसीले बार्सिलोनाका लागि १७ सिजनमात्र खेलेका छन् भने पेलेले १९ सिजन खेले । अहिले उमेरले ८० वर्ष छोएका पेलेले सन् १९५६ मा १५ वर्षकै उमेरमा सान्तोसबाट डेब्यू गरेका थिए । मेसीले भने सन् २००४ मा १७ वर्षको उमेरमा बार्सिलोनाका लागि पहिलोपल्ट खेलेका थिए । यसअघि एट्लेटिको म्याड्रिडले तेस्रो स्थानमा रहेको रियल सोसिडाडलाई २–० ले हराएर शीर्षस्थानमा ३ अंकको अग्रता खोल्यो । एट्लेटिकोका लागि दुवै गोल दोस्रो हाफमा मारियो हर्मोसो र मार्कोस लोरेन्टले गरे ।

एट्लेटिकोको १३ खेलबाट ३२ अंक भएको छ । सिजनको सुरुआतमा अधिकांश समय तालिकाको शीर्षस्थानमा रहेको सोसिडाडले लगातार तेस्रो खेल गुमाएको छ । सबैखाले प्रतियोगितामा गरेर सोसिडाडले पछिल्ला ९ खेलमा कुनै जित निकाल्न सकेको छैन । यो खेल जितेको भए सोसिडाडसामु एट्लेटिकोको बराबरी गर्ने अवसर हुन्थ्यो, तर अब दुई टिमबीचको दूरी ६ अंक भएको छ ।

युभेन्ट्सको पहिलो हार

मिलान– च्याम्पियन युभेन्ट्सले इटालीको सिरी ‘ए’ मा मंगलबार सिजनको पहिलो लिग हार बेहोरेको छ । युभेन्ट्समाथि फिओरेन्टिनाले ३–० को जित पायो । खेलको अन्त्यमा युभेन्ट्स १० खेलाडीमा समेटिएको थियो । जुवान कौड्राडोलाई १८ औं मिनेटमा मैदान छाड्नुपरेको थियो । फिओरेन्टिनाले प्रशिक्षक सिसर प्रान्डाली आएयता यसअघिका ६ खेल जित्न सकेको थिएन ।

तर यसपल्टको जितमा उसको भन्दा पनि युभेन्ट्सको कमजोर डिफेन्स बढी जिम्मेवार रह्यो । विशेषतः लियोनार्डो बोनुचीले युभेन्ट्सका लागि बिर्सनलायक खेल खेले । फिओरेन्टिनाका लागि डुसान भ्लाहोभिच र मार्टिन सेसर्सले गोल गरे । अर्को गोल एलेक्स सान्ड्रोको नाममा आत्मघाती रह्यो । यो हारपछि युभेन्ट्स १३ खेलबाट २४ अंकमा सीमित रह्यो । टोली चौथो स्थानमा रह्यो ।

यो शीर्षस्थानको एसी मिलानसँग ७ अंकको दूरी हो । लगातार दसौंपल्ट लिग उपाधि जित्ने होडमा रहेको युभेन्ट्सको अहिलेको लयले त्यस उपलब्धि हात पार्न गाह्रो ह्नुे देखिएको छ । फिओरेन्टिनाका दुई गोलमा सिधै बोनुचीको भुल जिम्मेवार थियो र खेलपछि उनले क्लबका समर्थकसामु माफी मागेका छन् । उनले इन्स्ट्राग्राममा लेखेका छन्, ‘म सबै क्लब समर्थकसँग माफी माग्न चाहन्छु, सिजनकै खराव प्रदर्शनका लागि ।’

आर्सनल गम्भीर संकटमा : आर्टेटा

​लन्डन– आर्सनलका व्यवस्थापक मिखेल आर्टेटाले बुधबार आफ्नो क्लब अहिले गम्भीर संकटमा रहेको स्विकारेका छन् । सिजनमा निर्णायक हुनसक्ने व्यस्त चाडपर्वको समयमा आर्सनलको प्रदर्शन अत्यन्त खराव रहेको छ । यसैक्रममा आर्सनल इंग्लिस लिग कपबाट पनि बाहिरिएको छ ।

डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले लिग कपमा मंगलबार आर्सनललाई ४–१ ले हराएर सेमिफाइनल प्रवेश गरेको थियो । इमिरेट्स स्टेडियममा बेहोरेको यो हारले खराब लयमा रहेको आर्सनललाई थप धक्का पुगेको छ । सिटीबाट गाब्रियल जेसस, रियाद महारेज, फिल फोडेन र आयमेरिक लापोर्टेले गोल गरे ।

आर्सनलका तर्फबाट एलेक्जान्डर लेकाजेटले एक गोल फर्काए । प्रिमियर लिगमा आर्सनलले पछिल्ला सात खेलमध्ये पाँचमा हार बेहोरेको छ । टोली १४ अंकमा सीमित रहेर १५औं स्थानमा रहेको छ । लिगमा आर्सनलले सन् १९७४–७५ यता सबैभन्दा खराव सुरुआत लिएको छ । आर्टेटाले गत डिसेम्बरयता टिम सम्हालेका थिए ।

आर्सनलले अब शनिबार लिगमा चेल्सीको सामना गर्नेछ । त्यसपछि आर्सनलले ब्राइटन र वेस्ट ब्रुमविरुद्ध खेल्नेछ । यस्तै एफए कपमा आर्सनलको प्रतिद्वन्द्वी न्युकासल रहेको छ । आर्टेटाले भनेका छन्, ‘अब हामीले राम्रो खेलेनौं भने निकै खराब समय आउने छ, यसमा कुनै शंका छैन । अहिले तत्काल टिममा अनौठा समस्या भइरहेका छन्, त्यसैले गाह्रो स्थिति छ ।’

उनले थपेका छन्, ‘हामीले अब क्लबमा उपलब्ध सबै प्रकारको अवसर र विकल्प उपयोग गर्नुपर्ने हुन्छ । स्थिति पक्कै पनि नाजुक छ ।’

लिग कपको बुधबारै अर्को खेलमा च्याम्पियनसिप टिम ब्रेनफोर्डले न्युकासललाई १–० ले हरायो । त्यसमा जोसुवा डा सिल्भाले निर्णायक गोल गरे ।  कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्