
संसद विघटनलाई तत्कालीन कारण देखाउँदै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गरेपछि पार्टी विभाजित भएको छ ।
विभाजित पार्टीका ओली र प्रचण्ड–नेपाल समूहले छुट्टाछुट्टै केन्द्रीय कमिटीको बैठक डाकेका छन् । तर गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ले यो समाचार लेख्नेबेलासम्म कुनै पक्षधरता देखाएका छैनन् ।
तर स्रोतको दाबीअनुसार बिहीवार बादल ओलीपक्षीय केन्द्रीय कमिटी बैठकमा जाने तयारी गरेका छन् ।
‘आजको बालुवाटार बैठकमा बादल उपस्थित हुनुहुन्छ, उहाँले हिजै प्रधानमन्त्री ओलीसँग भेटेर आफू उता (प्रचण्ड–नेपाल) पक्षमा नरहेको स्पष्ट पारिसक्नुभएको छ,’ स्रोतले भन्यो ।
बुधवार ओलीलाई भेट्न बादल बालुवाटार पुगेका थिए । दुवै नेताबीच संसद विघटनपछिको परिस्थितिबारे छलफल भएको थियो ।
बिहीवार दिउँसो १ बजे ओली पक्षको केन्द्रीय कमिटी बैठक बालुवाटारमा शुरू हुँदैछ । बादलनिकट मानिने स्थायी कमिटी सदस्य मणि थापा ओलीको पक्षमा लागिसकेका छन् ।
यद्यपि बादलनिकट मानिने अन्य केन्द्रीय कमिटी सदस्यहरू भने प्रचण्ड–नेपाल पक्षमै देखिएका छन् ।
प्रचण्डले मंगलवार र बुधवार पुल्चोकस्थित मन्त्री निवासमै गएर बादललाई आफूतिर आउन आग्रह गरेका थिए ।
शनिवार प्रधानमन्त्री समेत रहेका ओलीले प्रचण्डलाई खुमलटारमा भेटेपछि मन्त्रीनिवासमा आएर बादललाई पनि भेटेका थिए ।
आइतवार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको संसद विघटनको प्रस्तावमा बादलले कुनै प्रतिक्रिया दिएका थिएनन् । बरू ओली पक्षमै रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ओलीको प्रस्तावमा असहमति जनाएका थिए ।
सचिवालय सदस्यमध्ये ईश्वर पोखरेल र विष्णु पौडेल ओलीपक्षमा लागिसकेका छन् भने प्रचण्डसँगै वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ छन् । नेता नेपाललाई नेकपाको अध्यक्ष बनाउने निर्णय भइसकेको छ ।
सचिवालय सदस्यमध्ये उपाध्यक्ष वामदेव गौतम र बादल दुवै हालसम्म अनिर्णित थिए । बादलले आफ्नो पक्षधरता स्पष्ट पारिसकेपछि गौतमले पनि छिट्टै निर्णय गर्न सक्ने सम्भावना छ ।