०१ साउन २०८३, शुक्रबार

‘बादल’ को विलय

पुस १०, २०७७
‘बादल’ को विलय

रामपुर कृषि क्याम्पस चितवनमा पढ्दै गर्दा दुई युवाले नारायणी किनारमा बसेर राजनीतिक परिवर्तनका गफ धेरै गरे, आगामी बाटो पर्गेले र पञ्चायत पतन गराउन भूमिगत राजनीति थाले । राजनीतिको अधिकांश समय एउटै मोर्चामा रहेका तिनै पुष्पकमल दाहाल र रामबहादुर थापाबीच दोस्रो पटक सम्बन्धविच्छेद भएको छ ।

यसअघि २०६९ सालमा दाहाल नेतृत्वको माओवादीबाट अलग भएका थापा (बादल) बिहीबार विधिवत् रूपमै ओलीको नेकपामा विलय भएका छन् । थापाको राजनीतिक पृष्ठभूमि र सिद्धान्त ओलीसँग मिल्नेखालको छैन ।

उनले बिहीबार ओली नेकपाको मञ्चमा गरेको भाषण क्रान्तिकारी माओवादीको प्रखर नेताको जस्तै सुनिएको थियो । उनले बारम्बार क्रान्ति, प्रतिक्रान्ति, अग्रगमन र पश्चगमनजस्ता शब्द प्रयोग गरेका थिए । थापाले नेकपाको अर्को समूह व्यवस्था परिवर्तनमा लागेको र उनीहरूलाई संघीयता र गणतन्त्र फिटिक्कै मन नपरेको बताइरहँदा उनैले मोहन वैद्य नेतृत्वको पार्टीबाट ल्याएका ३४ जना केन्द्रीय सदस्य भने त्यही समूहको बैठकमा बसेर ‘थापाले राजनीतिक भविष्य ध्वस्त पारेको’ मूल्यांकन गरिरहेका थिए ।

दुवै खेमाको तानातानमा परेका थापालाई बिहीबार बिहानको भेटपछि ओलीले फकाउन सफल भएका हुन् । पार्टी उपाध्यक्ष र सरकारमा उपप्रधानसहित गृृहमन्त्री बनाउने ओलीको आश्वासनपछि थापा उतै खुले । तर उनी एक्लै ओलीको खेमामा गएका छन् । साढे २ वर्षसम्म थापाको राजनीतिक सल्लाहकार भएका सूर्य सुवेदीले समेत राजनीतिक र नैतिक दृष्टिले उनलाई साथ दिन नसकेको बताए । उता बालुवाटारको मञ्चमा थापाको गडगडाहड अर्कै थियो ।

केही दिनअघि आफू निकट नेताहरूसँग प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई प्रतिगमन भनेका थापाले बिहीबार त्यसको विरोध गर्नेहरूलाई प्रतिगामी भनिदिए । ‘एकाथरी प्रतिनिधिसभा विघटन गर्नुलाई पश्चगमन भन्छन्,’ उनले भने, ‘प्रतिनिधिसभा विघटन अग्रगामी र क्रान्तिकारी कदम हो, अब हामी मध्यावधि चुनावबाट दुई तिहाइ मत ल्याउँछौं ।’ उनले दाहाल–नेपाल पक्षका नेताहरू पार्टी फुटाउन भनेर कसम नै खाएर लागेको बताए । ‘उहाँहरूले पार्टी फुटाउने आकांक्षा पार्टी प्यालेसमा बैठक बसेर पूरा गर्नुभयो,’ थापाले भने, ‘अब उहाँहरू संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने रणनीतिमा हुनुहुन्छ, त्यसैका लागि खुफिया एजेन्सी प्रमुखहरूसँग भेटिरहनुभएको छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्