
बेलायतमा कोरोनाको नयाँ स्वरूप भेटिएपछि नेपालमा भित्रिन सक्ने चिन्ता विज्ञहरूले गरेका छन् । अहिले देखिएको कोरोना भाइरसको प्रजाति पहिलेको भन्दा द्रुत गतिमा फैलिन सक्ने भएकाले सतर्कता अपनाउनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।
विश्व स्वास्थ्य संगठनले बेलायतसहित नेदरल्यान्ड्स, डेनमार्क र अस्ट्रेलियामा समेत कोरोना भाइरसको नयाँ स्वरूप पत्ता लगाएको जनाएको छ । भीयूआई–२०२०१२/०१ नाम दिइएको उक्त भाइरसको संक्रमण तीव्र रूपमा फैलिएपछि बेलायतमा कडा लकडाउन गरिएको छ ।
ब्रिटिस अधिकारीहरूले नयाँ स्वरूपको भाइरस पहिलेको भन्दा ७० प्रतिशतसम्म बढी संक्रामक रहेको जनाएका छन् । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) को ‘इम्प्लिकेसन्स अफ इमर्जिङ सार्स कोभिड टु भेरियन्ट’ नामक अध्ययनले पनि संरचना परिवर्तन भएको नयाँ भाइरस छिटो फैलिने सक्ने देखाएको छ । सीडीसीले यसको थप खोजमा वैज्ञानिकहरू लागिपरेको र यसले एकदम सिकिस्त बिरामी बनाउने वा मृत्युको जोखिम बढाउने वा नबढाउने भन्ने तथ्य फेला परिनहालेको जनाएको छ ।
भाइरसले स्वरूप बदलेसँगै खोपको प्रभावकारिता घट्ने चिन्ता पनि सुरु भएको छ । अहिले विकास भइरहेका खोपले नयाँ भाइरसलाई नियन्त्रण गर्दैन भन्ने पुष्टिचाहिँ भइनसकेको वैज्ञानिकहरू बताउँछन् । नयाँ प्रकारको कोरोना भाइरस सेप्टेम्बरमा पहिलो पटक फेला परेको थियो । सामान्यतया यसबाट बालबालिका तथा किशोरकिशोरीमा कम संक्रमण हुन सक्ने बताइन्छ । इम्पेरियल कलेज लन्डनका भाइरोलोजिस्ट वेन्डी बार्सले भने वयस्कजस्तै बालबालिकामा पनि छिटो फैलिने सम्भावना रहेको जनाएका छन् ।
नेपालमा नयाँ प्रकारको यो भाइरस भित्रिने सम्भावनालाई नकार्न नसकिने विज्ञहरू बताउँछन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनले नयाँ स्वरूपको भाइरस नेपाल भित्रिइसक्यो कि सकेन भनेर चासो देखिएको बताए ।
‘यो खालको कोरोना भाइरस छिर्नेबित्तिकै आजको भोलि फटाफट देखिने भन्ने हुँदैन । दुई महिनामा बल्ल यसले बेलायतमा धेरैलाई संक्रमित पार्दै छ भनेर थाहा हुँदै छ,’ उनले भने । उनले भाइरस प्रवेश गर्ने मुख्यद्वार भारत रहेको उल्लेख गर्दै त्यहाँ आए नेपाल अछुतो रहन नसक्ने बताए । ‘नयाँ कोरोना भाइरस द्रुत गतिमा फैलिन सक्ने भनिएकाले यो नेपालका लागि चिन्ताको विषय हुन सक्छ,’ उनले भने ।
डा. पुनले नेपालले जनस्वास्थ्यका मापदण्ड परीक्षण, कन्ट्याक्ट ट्रेसिङ, आइसोलेसनलगायत पूर्ण पालना गर्नुपर्नेमा जोड दिए । ‘परीक्षण निकै घटेको छ । त्यसमाथि राजनीतिक ट्वीस्ट आएको छ । राजनीतिक पार्टीका दिनहुँ हुने नारा, जुलुस, भेला, बैठक आदि जनस्वास्थ्य मापदण्डविपरीत छन् । यसले कोरोनाको थप जोखिम नल्याओस्,’ उनले भने । उनले नेपालमै पनि भाइरसले कस्तो संरचना परिवर्तन (म्युटेसन) गर्दै छ भनेर अध्ययन गरिनुपर्ने बताए । म्युटेसन भयो भने भाइरसका विभिन्न प्रकारको लहर आउन सक्ने उल्लेख गर्दै डा. पुनले सतर्क रहनुपर्ने बताए ।
संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारीका अनुसार भाइरसमा जति धेरै जिनको मात्रा हुन्छ, त्यति नै धेरै म्युटेसन हुने सम्भावना रहन्छ । ‘कोरोना भाइरस फ्लु भाइरस, एचआईभी भाइरस जस्तो धेरै म्युटेट भने हुँदो रहने छ । अहिलेको म्युटेसन हेर्दा सार्न सक्ने प्रतिशत बढेको छ तर यसले पहिलेको स्ट्रेनभन्दा धेरै मृत्युदर बढाउने र घातक गर्ने अहिलेसम्म देखिएको छैन ।’ उनले पनि सजिलैसँग फैलिन सक्ने भएकाले सतर्क रहनुपर्नेमा जोड दिए ।
नेपालमै पनि भाइरसको म्युटेसन भइरहेको हुन सक्ने डा. अधिकारी पनि बताउँछन् । ‘भाइरसको स्ट्रेन फैलिएको छ वा छैन भनेर परीक्षण आवश्यक छ, नेपालमा त्यो सुविधा छैन तर यहाँ पनि गर्न सकिन्छ,’ उनले भने, ‘अहिले हामीकहाँ देखिएको भाइरस भने मुख्यतः भारतबाट आएको हो । नेपालमा आत्तिहाल्नुपर्ने अवस्था छैन । भीडभाड गर्नु भएन, मास्क लगाउनुपर्यो, साबुनपानीले हात धुनुपर्यो ।’ उनले सरकारले परीक्षण बढाउनुपर्ने, आइसोलेसन तथा क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्नुपर्ने र खोपको पहल गर्नुपर्ने बताए ।
‘अहिलेसम्म भाइरसको स्ट्रेनमा आएको परिवर्तनले खोपको प्रभावकारितामा खासै परिवर्तन देखाएको छैन,’ उनले भने, ‘विश्व स्वास्थ्य संगठनले खोपको प्रभावकारिता ७० प्रतिशतसम्म भए पनि काम गर्छ भनेको छ ।’
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले बुधबार रातिदेखि नै बेलायतबाट हुने उडान र यात्रुलाई नेपाल आउन प्रतिबन्ध लगाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बेलायतमा नयाँ स्वरूपमा कोरोना भाइरस देखा परेको सन्दर्भमा यसको रोकथाम तथा नियन्त्रणका लागि यो निर्णय लिइएको बताए । ‘पुस १ देखि ७ गतेभित्र बेलायतबाट वा त्यहाँको बाटो हुँदै नेपाल प्रवेश गर्ने सबैले अनिवार्य होटल क्वारेन्टाइनमा बस्नुपर्ने र नेपाल प्रवेश गरेको मितिले ७ देखि १० दिनभित्र नजिकको प्रयोगशालामा परीक्षण गर्न आग्रह गरिएको छ,’ उनले भने ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बुधबारदेखि स्वास्थ्य मन्त्रालयबाट स्वीकृति लिएर अहिलेसम्म कहाँबाट कति मानिस आए र बेलायतबाट आएको नयाँ प्रकारको भाइरसको प्रभाव नेपालमा कस्तो छ भनेर पोजिटिभ केसहरूको स्वाब लिएर अध्ययन गरिरहेको जानकारी दिए । ‘मान्छे खोज्ने काम सुरु भइसकेको छ । होम आइसोलेसनमा बसेका मान्छेको पनि नमुना स्वाब संकलन गरेर साता वा १० दिनभित्रमा रिपोर्ट सार्वजनिक गर्छौं,’ उनले भने, ‘नेपालमा पनि भाइरसको संरचना कसरी परिवर्तन हुँदै छ भनेर अध्ययन गरिरहेका छौं ।’ कान्तिपुर दैनिकमा बुनु थारूले खबर लेखेकी छन् ।