
चीनको अन्लाइन शपिङ साइट अलीबाबाले एकाधिकारपूर्ण गतिविधि गरेको भन्दै चिनियाँ अधिकारीहरूले छानबिन थालेका छन् ।
बजार नियमनसम्बन्धी राज्य प्रशासनका अधिकारीले आफ्ना व्यापारिक साझेदारलाई अन्य प्ल्याटफर्ममा सामान बेच्न अलीबाबाले नदिने गरेकोमा छानबिन गरिरहेको हो ।
अघिल्लो महिना अलीबाबाकै शाखा कम्पनी यान्ट ग्रूपले स्टक मार्केटमा ठूलो शेयर निकासा गर्न खोज्दा अधिकारीहरूले रोकिदिएका थिए ।
अलीबाबाले यान्ट गू्रपको एक तिहाइ शेयर ओगेटेको छ । स्वच्छ प्रतिस्पर्धा, उपभोक्ता अधिकार र आर्थिक सुपरीवेक्षण सम्बन्धी विषयको चर्चा गर्न यान्ट ग्रूपले आर्थिक नियामकहरूलाई भेट्ने भएको छ ।
अलीबाबा र यान्ट दुवै स्थापना भएदेखि भयंकर वृद्धि भएका छन् र तिनका संस्थापक ज्याक मा चीनका सर्वाधिक धनी व्यक्तिमध्ये एक हुन् । उनको सम्पत्ति ६०.८ अर्ब डलर बराबर रहेको बताइएको छ ।
अलीबाबा संसारको सबभन्दा ठूलो ईकमर्स बहुराष्ट्रिय कम्पनी हो । अघिल्लो त्रैमासिकमा उसका ७५ करोडभन्दा बढी चिनियाँ उपभोक्ता थिए । रिटेल बिक्रीका अलावा कम्पनीले क्लाउड कम्प्युटिङ, फिल्म निर्माण, खेलकुद र लजिस्टिक्स सेवा पनि उपलब्ध गराउँछ ।