
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुमत केन्द्रीय सदस्यहरू आफूसँग भएको र आवश्यक परे स–शरीर निर्वाचन आयोगमा उपस्थित हुने बताएका छन् ।
२९५ केन्द्रीय सदस्यको हस्ताक्षरसहित शुक्रवार निर्वाचन आयोग पुगेर प्रचण्डले आवश्यक परे स–शरीर उपस्थित हुने बताएका हुन् ।
‘पार्टी एकता गर्दा ४४१ को केन्द्रीय समिति गठन भएको हो, पछि सर्वसम्मतिले ४ जना थपिएको हो । त्यो ४४५ को संख्यामा ११ जना अहिले हुनुहुन्न । बाँकी रहेको संख्यामध्ये ३१५ जना सदस्यसहित केन्द्रीय कमिटीको बैठक बसेका छौं । अहिले २ सय ९५ जनाको हस्ताक्षर लिएर आएका छौं,’ प्रचण्डले आयोगका पदाधिकारीहरूसँग भने, ‘पार्टीमा वैधानिकताको प्रश्न खडा भएकाले हामी स–शरीर उपस्थित भएका छौ । हामीलाई भरोसा छ, प्रचलित कानून र विगतका नजिर हेरेर आयोगले आधिकारिकता, चुनाव चिह्न निश्चय गर्नेछ भन्ने विश्वास छ । निर्वाचन आयोगले हामी सबैलाई बाँकी पनि स–शरीर हेर्न बोलाउनुभयो भने पनि उपस्थित हुन तयार छ । त्यो भन्दा ठूलो प्रमाण अर्को हुनै सक्दैन ।’
प्रचण्डले अर्को पक्षले १०० जना वरिपरिको बैठक बसेर अनाधिकृत रूपमा ११ सयको केन्द्रीय समिति बनाएको सुन्दा आश्चर्य र अनौठो लागेको बताए ।
‘निर्वाचन आयोगका पदाधिकारीसँग हामी सबैलाई हामी यहाँ छौं । आवश्यक पर्यो भने हामी सबैलाई बोलाइयोस्, स–शरीर बोलाइयोस् भन्न आएका हौं,’ प्रचण्डले भने ।
जवाफमा निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता विवादमा न्यायोचित निर्णय गर्ने बताएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले तोकिएको अवधि अगावै विवादको निरुपण गर्ने विश्वास दिलाएका हुन् ।