
आफ्ना आमाबाबुलाई नै प्रहरी चौकीसम्म पुर्याउने काम प्रायः युरोपियन देशका बालबच्चाले नै गरेको सुनिन्छ । एशियाली देशमा त विरलै यस्ता घटना सुनिन्छन् । तर, पहिलोपटक हाम्रै छिमेकी देश भारतमा एक बच्चाले आफ्ना आमाबाबुलाई नै प्रहरी चौकीसम्म जान बाध्य गराएका छन् ।
विद्यालय नपठाएको भन्दै भारतको आन्द्र प्रदेशस्थित कृष्णा जिल्लामा दुर्ई बच्चाले आफ्ना आमाबाबु विरुद्ध प्रहरी कहाँ उजुरी गरेका छन् । दुई बच्चाको उजुरीपछि प्रहरीले आमाबाबुलाई प्रहरी चौकी लिएको थियो । अमहदावादको मिरर खबरका अनुसार कृष्णा जिल्लामा बस्दै आएका एक अटो ड्राइभर अकरम र उनकी पत्नी शर्मिलाका दुई बच्चा छन् । ११ वर्षका सिद्दिकी र ९ वर्षका शन्नु ।
अघिल्लो वर्षसम्म उनीहरु आफ्ना बाजे बज्यैसँग बसिरहेका थिए । बाजे बज्यैले नै उनीहरुलाई पढाउँदै आएका थिए । अकरम एक जुवाडी पनि थिए । उनले आफ्नो सबै पैसा जुवामा उडाउन थाले । पैसा नभएपछि आफ्ना बच्चालाई नजिकैको पसलमा काम गर्न लगाउने अकरमले सोच बनाए ।
जब बच्चाका बाजे बज्यैले यसको विरोध गरे तब उनीहरुमाथि नै अकरमले आक्रमण गरे । दुई बच्चालाई जबरजस्ती घर लिएर आए । घर आएपछि बच्चाहरुले आफ्ना पिताको आदेश मान्न अस्वीकार गरे ।
आफ्नो भनेको नमानेको भन्दै अकरमले दुवै छोरामाथि कुटपिट गर्न थाले । त्यसपछि दुवै भाई घरबाट भागेर बाजे बज्यै कहाँ गए । उनीहरुको सहायताले वीर वल्ली प्रहरी चौकी गएर आफ्ना पिता विरुद्ध उजुरी दिए ।
प्रहरीले राज्यको महिला तथा बाल कल्याण विभागको सुरक्षामा रहन विकल्प दियो । पछि प्रहरीले आमाबाबुलाई प्रहरी चौकी ल्याएर आइन्दा बालबच्चालाई काममा नलाउन निर्देशन दिइएको छ । उनीहरुको इच्छाअनुसार विद्यालय पठाउनुपर्ने र यदि त्यसो नगरेको पाइएमा प्रहरी चौकीमा ल्याएर पितालाई थुन्ने चेतावनीसहित घर फर्काइएको छ ।