
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा (संसद) विघटनविरुद्ध कांग्रेसले सोमवार देशभर १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदम अलोकतान्त्रिक र असंवैधानिक भएको निष्कर्षसहित कांग्रेसले आन्दोलन घोषणा गरेको थियो ।
संसद विघटनको विषय सर्वाेच्च अदालतमा विचाराधीन रहेकाले कांग्रेस नेताहरूले अदालतप्रति भरोसा गर्दै विचार व्यक्त गरेका छन् ।
भक्तपुरमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले अदालतमा विचाराधीन विषयमा कांग्रेसले यो गर उ गर भनेर भन्न नसक्ने बताए ।
कांग्रेसले अदालतको निर्णय मान्दै आइरहेको र यसपटक पनि अदालतको निर्णय मान्ने उनले बताए । उनले अदालतको निर्णय कुर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको अलोकतान्त्रिक निर्णयको विरोध गर्ने बताएका छन् ।
‘न्यायालयबाट जस्तो निर्णय हुन्छ, पक्षमा होस् वा विपक्षमा होस् । निर्णय मान्दै आइरहेका छौं । स्वतन्त्र न्यायलयको अदालतको निर्णय मान्नेछौं,’ देउवाले भने, ‘अदालतमा विचाराधीन विषयमा यो गर उ गर भनेर कांग्रेसले प्रेसर दिन सक्दैन, हाम्रो पार्टी भन्दैन । अदालतको निर्णय मान्नेछौं ।’
तनहुँ जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ ले भीमादमा आयोजना गरेको विरोध कार्यक्रममा बोल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले अदालतले प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा फैसला गर्नेमा आफूहरू विश्वस्त रहेको धारणा राखे ।
‘सर्वोच्च अदालतले सरकारको गल्ती सच्याउनैपर्छ, अब भरोसा भनेको अदालतसँग मात्र छ,’ वरिष्ठ नेता पौडेलले भने । मुलुकलाई संकटबाट बचाउन पनि प्रतिनिधिसभा पुनःस्थापना हुनैपर्ने उनको जिकिर थियो ।
नेपाल कम्युनिस्ट पार्टीको विवादसँग जोडेर प्रतिनिधिसभा विघटन गरिनु दुःखद् भएको पौडेलको भनाइ थियो । ‘संविधानमा संसद् विघटनको व्यवस्था नै छैन, व्यवस्थामा नै नभएको कुरा सरकारले गरेको छ,’ उनले भने, ‘संविधानको रक्षक राष्ट्रपतिबाट पनि गलत कामको समर्थन भएको छ ।’
नवलपुरमा आयोजित विरोध कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री ओली नेतृत्वको सरकारले चुनाव गर्नेमा आशंका व्यक्त गरे ।
‘प्रतिनिधिसभा विघटनविरुद्ध आज विरोध सभा भयो, चुनावको पनि एउटा अभ्यास हो, म तपाईंहरूसँग चुनावमा त आउला मेरा लागि अवसर हो । जहिले चुनाव हुन्छ, त्यो अवसर हो, वैशाख १७ र २७ गते चुनाव घोषणा भएको छ,’ कोइरालाले भने, ‘ओली सरकारले गर्दैन जस्तो लाग्छ, तर हाम्रो त प्रेसर पर्छ उनलाई । आउँदो निर्वाचनमा कांग्रेसलाई जिताउनुस्, कांग्रेसले मात्र यो देशमा परिवर्तन ल्याउँछ ।’
महामन्त्री कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रका स्थानीय मतदाताले आफूसँग कुरा गर्दा नेकपालाई भोट दिएर पश्चाताप गर्न थालेको दाबी गरे ।
सरकारले कोरोनाको समयमा समेत भ्रष्टाचार गरेको आरोप उनले लगाए । ‘कोभिडमा समेत भ्रष्टाचार गर्नेलाई समाती–समाती जेल हाल्नुपर्ने हो,’ उनले भने ।
नेपाली कांग्रेस मोरङले विराटनगरमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले सदर गरेमा निर्वाचनको सुनिश्चितताका लागि कांग्रेस सडकमा आउने बताएका छन् । उनले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय नसच्चिँदासम्म आफूहरूले विरोध गरिरहने बताए ।
‘प्रतिनिधिसभा विघटन गर्ने निर्णय जबसम्म सच्चिँदैन, पटक–पटक विरोध गरिरहन्छौं । सर्वोच्च अदालतले निर्वाचनको घोषणालाई सदर गर्यो भने निर्वाचनको सुनिश्चिताका लागि पनि नेपाली कांग्रेसले विरोध गरिरहनुपर्नेछ,’ कोइरालाले भने ।
कोइरालाले कांग्रेसले अब कम्युनिस्टसँगको सहकार्य नगर्ने र आफ्नै खुट्टामा उभिएर अगाडि बढ्ने बताए । ‘अबको सरकार नेपाली कांग्रेसको सरकार हो, निर्वाचनको प्रक्रिया अगाडि बढ्यो भने तयारी थाल्नुपर्छ,’ कोइरालाले भने, ‘लोकतान्त्रिक संविधान डिरेल भएको छ । राष्ट्रियता कसरी मजबुत बनाउने, सँगसँगै लोकतन्त्रलाई बचाउँदै संविधानलाई ट्रयाकमा ल्याउनुपर्छ ।’
काठमाडौंको कोटेश्वरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले देशमा संवैधानिक संकट र राजनीतिक संकट निम्तिनुमा प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालपछि राष्ट्रपति विद्या भण्डारी दोषी रहेको आरोप लगाएका छन् ।
संवैधानिक राष्ट्रपतिको भूमिकाबारे पहिलो राष्ट्रपति डा. रामवरण यादवसँग ट्युसन पढ्न राष्ट्रपति भण्डारीलाई उनले सुझाव समेत दिए । ‘गणतन्त्र नेपालको पहिलो राष्ट्रपति ललितपुरको बागडोलमा बस्नुहुन्छ, संवैधानिक राष्ट्रपति भएर कसरी काम गर्ने भनेर ट्युसन पढ्न बागडोल जानुस्,’ शर्माले भने ।
बाँकेको नेपालगञ्जमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य गगनकुमार थापाले वैशाखमा चुनाव हुनेमा शंका गरे । ‘प्रधानमन्त्रीले संसद विघटन गरेपछि वैशाखमा निर्वाचन गराउलान् र कांग्रेसका सदस्यहरूलाई सांसदको लोगो लगाइदिने कार्य गर्लान् भनि ढुक्क नहुनुहोला,’ उनले भने ।
नेपालको संविधान अनुसार संसदमा टाउको गनेर प्रधानमन्त्री बनेका ओलीले संविधान बमोजिम संसदको अधिवेशन नबोलाएर राष्ट्रपतिको सहारामा संसदको विघटन गरेर संविधान, लोकतन्त्र र जनभावनामाथि कुठाराघात गरेको उनले बताए ।
विगतमा संसदीय व्यवस्थामा देखिएको कमजोरीका कारण संविधानमा संसद विघटनको प्रावधान नराखेकोमा प्रधानमन्त्री र राष्ट्रपतिले संविधान मिचेर विघटन गरेको दाबी उनले गरे । विगत ३ वर्षको अवधिमा ओलीले एकपछि अर्को अपराध र कुकर्म गरेर देश र जनतामाथि अपमान गरेको नेता थापाले बताए ।
यही स्थिति रहेमा नेकपा अध्यक्ष प्रचण्डले कुनै दिन रत्नपार्कमा उभिएर ‘म कम्युनिस्ट हुनु नै सबैभन्दा ठूलो गल्ती रहेछ’ भन्न बेर नभएको उनले बताए ।
सरकारले संसद विघटन गरेर आगामी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेपछि केन्द्रीय कार्यसमितिको निर्णय अनुसार कांग्रेसले सोमवार देशभर १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको छ ।