
काठमाडौं । पूर्व मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले बालुवाटारभित्र बसेर प्रधानमन्त्री केपी ओली लोकतन्त्रको चीरहरणमा मस्त भएको आरोप लगाएका छन् । उनले सरकारलाई सडकबाटै ठेगान लगाउने चेतावनी पनि दिएका छन् । राजधानी बसन्तपुरमा भएको विरोध प्रदर्शनमा सम्बोधन गर्दै जोशीले यस्तो बताएका हुन् ।
‘कोरोना महामारी नियन्त्रणमा नआउँदै सडकमा आउन बाध्य भयौँ,’ जोशीले भने, ‘सरकार संसदबाट भाग्यो,संसद् विघटन गरेर संविधानमाथि बलमिच्याइ गर्यो। बालुवाटारभित्र बसेर षडयन्त्र गरेको सरकारलाई ठेगानमा ल्याउन सडकमा आएका हौँ । अब फर्केर यसै जाँदैनौं, हेक्का रहोस् ।
उनले सरकारलाई हावादारीको संज्ञा पनि दिए ।‘मुखले भ्रष्टाचार गर्दिन भन्छ, भ्रष्टाचार सहन्न पनि भन्छ । तर, वाइडबडी जहाज खर्लप्पै खान्छ,’ उनले भने, ‘सेक्युरिटी प्रेस खर्लप्पै खान्छ ।’ त्यसैले वर्तमान सरकार विरुद्ध कांग्रेस सडकबाटै अगाडि बढ्ने उताए ।