
उपल्लो तहका नेताहरू आ–आफ्ना दाबीसाथ अदालत र निर्वाचन आयोग पुगे पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकर्ता र मतदाता भने पार्टी एकताकै पक्षमा उभिएका छन् ।
उपल्लो तह (केन्द्र) का नेता प्रचण्ड–नेपाल र केपी ओली समूह भनेर चिनिँदै एकअर्कोविरुद्ध सत्तोसरापमा ओर्ले पनि महोत्तरीका आम कार्यकर्ता र मतदाता अझै पार्टी एकताकै पक्षमा उभिएका हुन् ।
‘हामीले त एकताबद्ध पार्टी निर्माण मात्र सोचेका छौं,’ महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–३ का पुराना पार्टी कार्यकर्ता लक्ष्मीकान्त चौधरीले भने, ‘हामीसँग यो पक्षमा लाग्ने भनेर कुरा नल्याए हुन्छ, हामीले सोचेको एकताबद्ध कम्युनिस्ट पार्टी हो ।’ जनताको तहका यी कुरा सुनेर ‘हामी एक छौं भन्न नेता आए आपूmहरूको साथ सहयोग अझै यसै पार्टी (नेकपा) ले पाउने चौधरीको भनाइ छ ।
करीब ३ वर्षअघि २०७५ जेठ ३ गते तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेकपा घोषणा हुँदाको क्षण जीवनकै केही खुशी बनेको चौधरी सम्झन्छन् । पञ्चायतकालमै तत्कालीन नेकपा मालेसँग नजिक रहेका चौधरी विक्रम संवत् २०४७ सालमा तत्कालीन माले र नेकपा मार्क्सवादी एकीकरण भएर एमाले बनेदेखि सो दलमा संगठित रहँदै आएका थिए ।
‘चाँडै पार्टी एक गर्ने घोषणासहित २०७४ सालको चुनावमा एउटै मोर्चामा एमाले र माओवादी केन्द्र चुनाव लडे, मधेशमा राजनीतिक हावा प्रतिकूल चल्दा पनि हामीले आफ्नो प्रतिनिधिसभा क्षेत्र (महोत्तरी–१) र यसका दुवै प्रदेशसभा क्षेत्रमा शानदार जित हात पार्यौं,’ चौधरीले ३ वर्षअघिको चुनाव सम्झँदै भने, ‘त्यो एकताको पक्षको बल थियो, एकतालाई जनताले दिएको समर्थन थियो ।’
लगत्तै २०७५ जेठ ३ सालमा दुवै पार्टी एमाले र माओवादी केन्द्रले एकीकरण गरेर वचन पुर्याएका सम्झँदै चौधरीले अहिले ३ वर्ष पूरा नपुग्दै रडाको मच्चाउनु दुर्भाग्यपूर्ण रहेको चौधरी बताउँछन् ।
विक्रम संवत् २०४७ सालअघि मनमोहन अधिकारी नेतृत्वको तत्कालीन नेकपा मार्क्सवादीसँग नजिक रहेका भङ्गाहा–९ हरिनमरीका अहिले उमेरले ९० वर्षका जितन यादव पनि नेकपा भित्रको बढेको रडाकोले दुःखी छन् । ‘खै यिनलाई खाइमात लागेको हो कि ? जनताको मायालाई जोगाउन सकेनन्,’ यादवले विरक्तभावमा भने, ‘जीवनको उत्तराद्र्धमा एकताबद्ध कम्युनिष्ट पार्टीकै काखमा मर्ने इच्छा भाँच्चियो ।’ अझै नेताहरूले बुझेर स्थिति सम्हालिदिए रहर पूरा हुन्थ्यो कि भन्ने झिनो आस बाँकी नै रहेको यादव बताउँछन् ।
भङ्गाहा–५ सीतापुरका ७५ वर्षीय झौली भण्डारी पनि नेकपाभित्र उपल्लो तहमा मच्चिएको रडाको तल्लो तहसम्म आइपुग्दा विरक्तिएका छन् । ‘हामीचाहिँ नेकपाका मूलधार हौं भन्दै केही साथी आएका थिए,’ १/२ दिनअघि पार्टीकै अर्का नेताविरुद्ध मसाल बाल्ने निम्तो बाँड्दै आएका साथीसँगको कुराकानी सुनाउँदै भण्डारीले भने, ‘मसाल बालेर मुर्दावादको नारा उराल्ने होइन, सुलहको कुरा ल्याउनोस् भनें ।’
पञ्चायतकालका अँध्यारा दिनमा तत्कालीन नेकपा मालेका नेता कार्यकर्तालाई गाँसबास दिएर जोगाएका भण्डारी पार्टीका गुटगुटका नेता आएर एकअर्कोविरुद्ध सत्तोसराप गर्दा मन भक्कानिने गरेको बताउँछन् ।
चौधरी, यादव र भण्डारीजस्तै जिल्लाकै बलवा नगरपालिका–११ भगवतीपुरका ६५ वर्षीय उत्तिम माझी मुसहरको मन पनि पार्टी विभाजनको कुराले टुटेको छ । ‘हामी गरीब र उपेक्षितलाई नेतृत्व दिन्छ भनेर कम्युनिस्ट पार्टी रोज्यौं,’ मुसहरले भने, ‘हामीलाई के देलान् ? आफैं भागमा रडाको मच्चाउन लागे ।’
पार्टीभित्रको अहिलेको विग्रह नीति, सिद्धान्तको नभई आ–आफ्ना स्वार्थका लागि नेताहरूले झिकेका बखेडा भएको मुसहरको बुझाइ छ । बलवाकै धमौरा बस्तीका ७० वर्षीय वासुदेव पासवान, भङ्गाहा–६ हतिसर्वाका ७५ वर्षीय सीताराम सर्दार बाँतर र सोही बस्तीका ७० वर्षीय इस्लाम राइनको पनि उत्तिम माझी मुसहरकै जस्तो चिन्ता र गुनासो छ ।
जिल्लामा पुस ७ गते नै दुईतिर केन्द्रीय समितिको बैठक गरेयता आ–आफ्ना पक्षको कुरा लिएर केही नेता कार्यकर्ता जिन्दावाद–मुर्दावादमा हिँडे पनि यहाँका आम कार्यकर्ता र शुभेच्छुक मतदाता कुनै पक्षमा लागेका देखिन्नन् । आम कार्यकर्ता र शुभेच्छुक मतदातामा अझै पार्टी एक हुने/रहने झिनो आश बाँकी नै छ । ‘होइन, यी भोगेर पनि नचेत्ने रहेछन्, २०/२२ वर्षअघि माले/एमाले भएर फुट्दा के हविगत भा’थ्यो !’ उनले भने ।
२०४७ यता सधैं कम्युनिस्टलाई मतदान गर्दै आएकी भङ्गाहा–४ रामनगरकी ६५ वर्षीया आयशा खातुनले आक्रोश मिश्रित व्यंग्यात्मक भावमा भनिन्, ‘खै केलाई के पच्दैन भन्छन् नि ! यिनलाई हाम्रो माया नपचेको हुनपर्छ ।’