
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा विघटनमा सर्वोच्च अदालतले संविधानको मर्म र भावना अनुसारको फैसला गर्ने विश्वास व्यक्त गरेका छन् ।
प्रतिनिधि सभा विघटनको विरोधमा सडकमा भएका प्रदर्शन अदालतले सही फैसला गर्न जनताले गरेको सहजीकरणको रूपमा लिन उनको आग्रह थियो ।
‘मलाइ भरोसा छ, सम्मानित सर्वोच्च अदालतले देशको आवाज सुन्ने छ, संविधानको भावना र अक्षरलाई सम्मान गर्नेछ । सम्मानित सर्वोच्चले संविधानको मर्म र भावना बुझ्दैन भनेर सोच्न पनि सक्दिनँ,’ मंगलवार काठमाडौंको भृकुटीमण्डपमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘यदि कुनै खालको असहज परिस्थिति छ भने जनताको प्रदर्शन र सभा सहजीकरणका लागि, सही फैसला गर्न जनताले गरेको सहजीकरणका रूपमा बुझिदिन आग्रह गर्न चाहन्छु ।’
अध्यक्ष प्रचण्डले संविधानमाथि भएको आक्रमणबारे केपी ओलीले जनतासँग माफी माग्नुपर्ने बताए ।
‘यहाँ बसिराख्दा २०४६ सालको जनआन्दोलनका बेला मदन भण्डारीले गरेको सम्बोधनको स्मरण गरें । त्यो दिन मदन भण्डारीले भन्नुभएको थियो, यो टेलर मात्र हो, भत्करु आएको मात्र हो, जन्ती आउन बाँकी छ, बाजा बज्न भन्नुभएको थियो । आजको काठमाडौंको सभा त्यसैको संकेत हो लोकतन्त्रमाथिको प्रहार नरोकिए अब आँधीबेहरी आउँछ,’ प्रचण्डले भने ।