
रेस्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराले बुधवारदेखि अंग्रेजी नयाँ वर्ष–२०२१ अवसरमा २२ औं पोखरा सडक महोत्सव गर्दैछ ।
कोरोना महामारीका कारण संकटमा परेको पर्यटन क्षेत्र चलायन बनाउन महोत्सवलाई निरन्तरता दिइएको आयोजकले जनाएको छ ।
विगतमा ५ दिनसम्म चल्ने महोत्सव यसपालि छोट्याएर ३ दिन मात्र हुनेछ ।
पोखरामा मंगलवार पत्रकार सम्मेलनमा रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले कोभिड–१९ का कारण बन्द रहेका होटल, रेस्टुरेन्ट लगायत सम्बद्ध क्षेत्रलाई गतिशील बनाउन स्वास्थ्य मापदण्ड अपनाउँदै पुस १५ देखि १७ गतेसम्म महोत्सव गर्न लागिएको जानकारी दिए ।
महोत्सव विगतमा झैं शहीद चोकदेखि हल्लन चोक हुँदै जरेवरसम्मको करीब ३ किलोमिटर क्षेत्रफलमा हुनेछ ।
महोत्सव संयोजक वसन्त गौतमले कोरोना प्रभावका कारण ९ महिनादेखि पर्यटनसम्बन्धी कुनै पनि गतिविधि नभएको, कतिपय व्यवसायीहरू विस्थापित समेत भइरहेको अवस्थामा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी ‘पोखरा खुला छ’ भन्ने सन्देश दिन स्थानीय प्रशासनको स्वीकृतिमा महोत्सव गर्न लागिएको जानकारी दिए ।
अंग्रेजी नयाँ वर्षको गन्तव्य स्थलको रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले हुने सडकमा हुने महोत्सवमा मौलिक संस्कृति झल्कने विभिन्न जातजातिका भेषभूषसहित सांस्कृतिक कार्यक्रम हुनेछन् । यसपालि तडकभडक र तामझाम भने हुने छैन ।
गौरीघाट, अम्बोट, खहरे र सेन्टर लेकमा ४ वटा स्टेज रहनेछन् । सुन्तला, मह लगायत हस्तकलाका गरी २० स्टेल रहनेछन् । तीमध्ये हालसम्म ७ मात्र बूक भएका छन् ।
सुरक्षाका लागि लेकसाइड छिर्ने विभिन्न १९ नाकामा निजी सुरक्षा दल तैनाथ हुनेछन् । दिउँसो ३ देखि राति १२ बजेसम्म ‘नो भेइकल जोन’ गरी सवारी आवागमन हुन दिइने छैन । बुधवार खहरेदेखि शुरू हुने र्याली मितेरीपार्क अगाडिको उद्घाटन समारोह हुने महोत्सव संयोजक वसन्त गौतमले जानकारी दिए ।
पोखराका होटलहरूले विगतमा कोठामा ५० प्रतिशत छुट दिने घोषणा महोत्सव अवधिसम्म पनि कायम राख्ने जनाएका छन् । हाल नयाँ वर्षको लागि लक्षित गरी ३० प्रतिशत अकूपेन्सी भएको होटल व्यवसायी नरेश भट्टराईले जानकारी दिए । पछिल्लो समय भारतीय पर्यटकहरूको चहलपहल शुरू भएको उनले बताए ।
‘महोत्सव यसपालि तडकभडक र ठूलो तामझाम, भीडभाड नगरिकन, विगतका महोत्सवलाई निरन्तरता दिई पोखरा खुल्लै छ र पर्यटन व्यवसायीहरू पर्यटकलाई स्वागत गर्न तयार छन् भन्ने सन्देश दिने नै हो,’ महोत्सव संयोजक गौतमले भने, ‘यसबाट सुस्ताएको पर्यटन क्षेत्र केही हदसम्म भए पनि गतिशीलता प्राप्त गर्ने र यसले सम्पूर्ण पर्यटन व्यवसायीमा नयाँ उमङ्ग र उत्साह थप्नुको साथै स्थानीयमाझ कोरोनाले थकाएको तथा त्रसित मानसिकतामा पुनर्ताजगी ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’
रेवान सल्लाहकार गणेश भट्टराईले कोरोना–१९ विरुद्ध स्वास्थ्य मापदण्ड अपनाउँदै महोत्सवमा उपस्थित हुन आग्रह गरेका छन् । उनले महोत्सवलाई निरन्तरताको स्वरूप र आगामी सम्भावना स्वरूप निरन्तरता दिइएको बताए ।