
प्रतिनिधिसभाको बुधबारको बैठक बस्दै नबसी सरेको छ ।
बुधबार बिहान ११ बजेका लागि बोलाएको बैठक सूचना टाँस गरेर दिउँसो २ बजेका लागि सारिएको हो ।
संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले बैठक बस्ने समय परिवर्तन भएको जानकारी दिएका छन् ।
सदनमा देखिएको गतिरोध अन्त्यका लागि अहिले सिंहदरबारमा सत्तापक्ष र विपक्षी दलहरूबीच छलफल भइरहेको छ ।
‘बुधबार बिहान ११ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारण निर्धारित समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम २ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सम्माननीय सभामुखले सभाको बैठक आजै दिनको २ बजे बस्ने गरी निर्धारण गर्नुभएको बेहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा उल्लेख छ ।
