२२ असार २०८३, सोमबार

अरुको सेटिङमा केपी ओली फसे : सुरेन्द्र पाण्डे

अरुको सेटिङमा केपी ओली फसे : सुरेन्द्र पाण्डे

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तवरले संसद विघटन गरेको भन्दै त्यसको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले पोखरामा मंगलवार विरोध प्रदर्शन गरेको छ ।

आन्दोलनमा सहभागीले कालोपट्टि बाँधेर ओली सरकारविरुद्ध चर्का नाराबाजी गरे । उनीहरूले नालायक सरकार राजीनामा दे, प्रतिगामी सरकारलाई असफल पारौं, नेपाल कम्युनिस्ट पार्टी नेकपा जिन्दावाद, प्रतिगामीहरू होशियार, वीर शहीद लालसलाम, प्रतिगामी ओली होशियार, संविधान मिच्न पाइँदैन–केपी ओली चाहिँदैन लगायतका चर्का नाराबाजी गरेका थिए ।

पोखराको चिप्लेढुंगाबाट शुरू र्‍याली महेन्द्र पुल, नयाँबजार हुँदै पृथ्वीचोक पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री ओली अरुको सेटिङमा चल्दा आफैं फसेको बताएका छन्  । संसद विघटन गरेर आफूसहित मुलुकलाई नै अँध्यारो सुरुङमा प्रवेश गराएको उनको टिप्पणी छ ।

संसद विघटन गर्ने कुरा ओलीले भनेजस्तो आफ्नै सेटिङमा नभई अरुको सेटिङमा भएको उनको दाबी छ । उनले भोलि तिनै सेटिङ गर्नेहरूले ओलीलाई अधिकारका निम्ति आफूहरूसँग आउने अवस्था ल्याउने टिप्पणी गरे । नेकपालाई भोट दिने ४५ लाखभन्दा बढी भोट दिने र लोकतन्त्रका पक्षपातीहरू अहिले दुःखी बनेको र प्रधानमन्त्री ओलीको कदमलाई धिक्कारिरहेका उनको ठहर छ ।

उनले अब संसद पुनःस्थापना नहुँदासम्म आन्दोलन निरन्तर रहने जानकारी दिए । ‘जबसम्म संसद पुनःस्थापना हुँदैन, तबसम्म हाम्रो आन्दोलन निरन्तर रहन्छ,’ उनले भने । चुनाव चिह्न सूर्य र आधिकारिक नेकपा आफ्नै हुने दाबी गरे ।

नेता खिमलाल देवकोटाले प्रधानमन्त्री ओलीले चालेको कदम असंवैधानिक, अराजनीतिक र अनैतिक कदम चालेको बताए । संविधानको चीरहरण गर्ने काम प्रधानमन्त्रीबाट भएको उनले उल्लेख गरे ।  उनले सरकार जन्माउन नसके मात्र संसद भंग हुने प्रावधान रहेको बताए । गणतन्त्र नेपालमा महाराज बन्ने छुट कसैलाई नरहेको टिप्पणी गरे ।

सभामा नेकपाका गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डे ‘उत्तम’, केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज राजकाजी गुरुङ, केन्द्रीय सदस्य सीता गिरी ओली, कास्की सचिव बखानसिंह गुरुङ र धनराज आचार्य लगायत नेताहरूले संसद पुनःस्थापना हुनुपर्ने बताए । 

विरोध सभामा सहभागी हुन कार्यकर्तालाई बसबाट पोखरा उतारिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्