२१ जेठ २०८३, बिहीबार

सुक्खा पहाड खनेर खानेपानी निकालियो, पुरानै ठाउँमा फर्किए बसाइँ सर्ने गाउँले

पुस १६, २०७७
सुक्खा पहाड खनेर खानेपानी निकालियो, पुरानै ठाउँमा फर्किए बसाइँ सर्ने गाउँले

खानेपानी अभाव भएपछि इलामको इलाम नगरपालिका–११ सोयाकमा पहाड खनेर पानी निकालिएको छ ।

सुक्खाग्रस्त क्षेत्रमा पानीको हाहाकार भएपछि बसाइँ सर्नेको संख्या बढेको थियो ।

नगरले डिप बोरिङमार्फत जमिन खनेर पानी निकालेपछि बसाइँ सर्ने फर्किन थालेका छन् । जमिनमुनि करीब १२३ मिटर खनिएको छ तर ५० मिटरमुनि नै पानी भेटिएकाले त्यहीँबाट खानेपानी आपूर्ति हुन थालेको छ ।

लामो बाटो हिँडेर मूलको पानी ल्याउनु पर्ने बाध्यताले आजित गाउँबासी बसाइँ सर्ने क्रम बढ्दो क्रममा थियो । पानीकै समस्याले गाउँले विस्तापित हुन थालेपछि इलाम नगरपालिकाले डिप बोरिङबाट पानी निकाल्ने योजना बनाएको हो ।

जिल्लामै पहिलो परीक्षण भएकाले सफल हुने/नहुनेमा द्विविधा थियो तर नगरको परीक्षण सफल भएपछि गाउँले खुसी भएका हुन् । लामो बाटो पानी बोक्नु नपर्ने भएपछि पुनः गाउँ फर्किएको ७० वर्षीया टीका पराजुली बताउँछन् । पराजुली २०३२ सालमा विवाह गरेर सोयाक आउँदा खानेपानी लिन दैनिक १ घण्टा हिँड्नु पथ्र्यो ।

अहिले बोरिङबाट घरमै पानी झरेपछि भने पराजुलीलाई ‘जीवनले काँचुली’ फेरिएझैं भएको छ । १ वर्षअघि २ करोड ४७ लाख ८० हजार रुपैयाँको लागतमा बोरिङको काम शुरू गरिएको थियो ।

सुक्खा डाँडामा अन्य क्षेत्रबाट पानी ल्याउन सकिने अवस्था थिएन । सोही कारण नगरले यो नयाँ उपाय अपनाएको हो । गाउँमा सडक, बिजुली सबै विकासका पूर्वाधार पुगे पनि खानेपानी नभएपछि स्थानीयवासी चिन्तित थिए । पानीको समस्या सुल्झिएपछि गाउँमा फर्किनेको संख्या बढेको स्थानीयवासी नरेन्द्र आचार्य बताउँछन् ।

आचार्य पनि पानीको समस्याले विस्थापित व्यक्ति हुन् । उनी यही समस्याले गाउँ छाडेर बेंसीमा बस्थे । तर पछिल्लो समय बस्तीमा पानी झरेपछि फेरि गाउँ फर्किने तरखरमा रहेको आचार्यको भनाइ छ । यहाँ अधिकांश परिवार पानीको समस्याले झापातर्फ बसाइँ सरेका थिए । 

झापाको छेउ भएकाले पनि गाउँले पानीको सुगमताका लागि त्यतै सरेका हुन् । पानीका लागि यो भन्दा पहिले पनि विभिन्न प्रयत्न चलेका थिए तर कुनै पनि योजना सफल भएनन् । गाउँमा पानी ल्याउन खोलाको पानी मोटरबाट ल्याउनेदेखि कुवाको पानी संकलन गर्ने काम समेत गरियो तर कुनै काम सफल भएको थिएन ।

नगरको पछिल्लो प्रयत्न सफल भएपछि गाउँमा सिँचाइका लागि पनि पानी पुग्ने वडाध्यक्ष रविन एक्तेन बताउँछन् । खानेपानी समस्याले १८ घरपरिवार अन्यत्र बसाइँ सरेका छन् । खानेपानीका लागि १ लाख ६० हजार लिटर क्षमताका ३ वटा ट्यांकी निर्माण भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्