०६ असार २०८३, शनिबार

विद्यार्थी अध्ययनका लागि अनुसन्धान केन्द्रसँग सम्झौता

पुस १६, २०७७
विद्यार्थी अध्ययनका लागि अनुसन्धान केन्द्रसँग सम्झौता
प्रतिकात्मक तस्वीर

बाग्मती प्रदेशअन्तर्गत मकवानपुर जिल्लास्थित  वनस्पति अनुसन्धान केन्द्र र विद्यार्थीलाई थप अध्ययनका लागि जिल्लामा रहेको १ सामुदायिक विद्यालयबीच सम्झौता भएको छ ।

केन्द्र र जनप्रिय माध्यमिक विद्यालय हेटौंडा–१६ बीच विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको ‘ओजेटी’ (अन द जब) का लागि समझदारी भएको हो । 

सम्झौताअनुसार ६ महिना अवधिसम्मका लागि माध्यमिक तह, बाली विज्ञान विषयको ‘अन द जब’ तालिमका लागि कार्यथलो वनस्पति अनुसन्धान केन्द्रले उपलब्ध गराउने छ ।

सम्झौताअनुसार विद्यार्थीले ओजेटी गर्न पाउनेछन् । नर्सरी तथा बिरुवा उत्पादन, फूल बिरुवा रोपण तथा स्याहारसम्भार, नर्सरी तयारी तथा फलफूल बिरुवा उत्पादन, जडीबुटी नर्सरी, वनस्पति उद्यान व्यवस्थापन तथा वानस्पतिक संरक्षणजस्ता क्षेत्रको सिकाइको अवसर पाउने छन् । 

वनस्पति अनुसन्धान केन्द्रका प्रमुख रघुराम पराजुली र विद्यालयका प्रधानाध्यापक नमराज अर्यालबीच सम्झौतामा हस्ताक्षर भएको हो । वनस्पति उद्यानका विभिन्न उद्देश्यमध्ये शैक्षिक उद्देश्य पनि महत्त्वपूर्ण रहेको वनस्पति अनुसन्धान केन्द्रका कार्यालय प्रमुख पराजुलीले बताए । विद्यालयबाट अनुरोध भएकाले अध्ययनरत विद्यार्थी वनस्पतिसम्बन्धी व्यावहारिक ज्ञान हासिल गर्ने अवसरबाट वञ्चित नहोउन् भनेर यो अवसर दिलाइएको उनको भनाइ छ । 

उक्त अवसरमा वनस्पति अनुसन्धान केन्द्रबाट १ जना सुपरीवेक्षक तोकिने र सुपरीवेक्षकको सुपरीवेक्षणमा रही विद्यार्थीले व्यावहारिक सिकाइ लिनेछन् । विद्यालयले उपलब्ध गराएको मूल्यांकन फारामअनुसार विद्यार्थीको मूल्यांकन सुपरीवेक्षकबाट गराउनुपर्नेछ ।

विद्यार्थीले वनस्पति उद्यानभित्र निषेध गरिएका कार्य गर्न भने पाउने छैनन् र विद्यार्थीको व्यावहारिक सिकाइमा सहजीकरण गर्नका लागि विद्यालयबाट १ जना सम्पर्क व्यक्ति तोकिने छ । 

salt training

कमेन्ट गर्नुहोस्