२१ जेठ २०८३, बिहीबार

ग्राहकले नरुचाउने साना सुन्तलाबाट जुस उत्पादन गर्दै किसान

पुस १६, २०७७
ग्राहकले नरुचाउने साना सुन्तलाबाट जुस उत्पादन गर्दै किसान

सुन्तलाको व्यावसायिक खेतीसँगै जाजरकोटका कृषक अब जुस बनाउन सक्रिय भएका छन् ।

केही वर्षअघि सडक सञ्जाल नहुँदा डोकीमा बोकेर बजारसम्म सुन्तला ल्याउने कृषक अहिले यातायातका साधन गाउँगाउँमा पुगेसँगै सुन्तला राखेर ढुवानी गरी देशका विभिन्न ठाउँमा पुर्‍याउन थालेका छन् । 

सबै ग्राहकका आँखा लाग्ने सुन्तला बिक्री वितरण भए पनि कम आँखा लाग्ने सुन्तलाबाट (साना सुन्तला) जुस बनाउने काम समेत शुरू गरिएको छ ।

सुन्तलालाई खेर जान नदिन र कृषकलाई अर्थ आर्जनमा थप टेवा दिन र व्यावसायिकरूपमा सक्षम बनाउन प्रधानमन्त्री कृषि आधुनिक परियोजना, परियोजना कार्यान्वय एकाइ जाजरकोटले यो काम थालेको कार्यालय प्रमुख पीताम्बर बस्नेतले जानकारी दिए ।

उनले भने, ‘वास्तवमा साना सुन्तला जुन बिक्री हँुदैनन्, ग्राहकले किन्न मन पराउँदैनन् त्यस्ता साना सुन्तलाको जुस बनाउँदा राम्रो सदुपयोग हुने अनुभव गरियो । सोहीअनुसार कृषकसँग हाम्रो सहकार्य जारी छ ।’ जिल्लाभरिका अगुवा कृषकको भेला गराई सुन्तलाबाट जुस निकाल्न तालिम दिएको परियोजनाले कृषकलाई नयाँ सीप, उपकरणसमेत हस्तान्तरण गरिरहेको छ ।

जिल्लाका नलगाड नगरपालिका र कुशे गाउँपालिकामा सबैभन्दा बढी सुन्तला खेती हुँदै आएको छ । केही समयअघि जुनारको जुस बनाउने काममा लागेको परियोजना कार्यान्वयन कार्यालयले अब सुन्तलाको जुस बनाउन अगुवा कृषकलाई तालिमसमेत दिएको छ ।
 
तालिमबाट सिकेको सीप गाउँगाउँमा गएर अन्य कृषकले पनि सिक्ने कार्यालयको भनाइ छ । बाइस जना अगुवा कृषकले पहिलोपटक जुस बनाउने तालिम लिएका छन् । अघिल्लो वर्ष जुस बनाउने एउटा जुसर मेसिन रातोपाण्डा कृषि सहकारीलाई दिइएको थियो । अब सुन्तला जुस बनाउने जुसन मेसिन अन्य पालिकामा उपलब्ध गराउने परियोजनाको लक्ष्य रहेको प्रमुख बस्नेत जानकारी दिए ।

अहिले कोरोनाका त्रासका कारण जात्रा, मेला र हाटबजार नलाग्दा जाजरकोटमा उत्पादन भएको सुन्तला बिक्री, वितरण कम भएको कुशे गाउँपलिका–५ दमदालाका अगुवा कृषक शक्ति ओलीले जानकारी दिए । सुन्तला बिक्री कम भए पनि जुस बनाएर सबैको हातमा जुस पुर्‍याउने अभियानमा लागेको कृषक ओलीले बताए । ‘सुन्तला बिक्री गरी घरको सबै आवश्यकता पूरा गर्दै आएको अवस्था छ,’ उनले भने । 

अर्का अगुवा कृषक नलगाड नगरपालिका–३ का कमल पुनले भने, ‘गाउँघरमा पाहुनालाई नासोका रूपमा प्रयोग हुँदै आएको सुन्तलाले अब व्यावसायिक अभ्याससँगै अर्थआर्जनको मुख्य भाग भएको छ । खाली जमिनभरि सुन्तला लगाएर गाउँभरि सुन्तलामय भएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्