
युरोप र एसियालाई समेटेको युरेसियाली क्षेत्रका लागि चीनले ल्याएको विशाल परियोजना बेल्ट यान्ड रोड इनिसिएटिभले यस क्षेत्रका सबैलाई आर्थिक तथा राजनीतिक मुक्तिको वातावरण उपलब्ध गराउने सामर्थ्य राख्छ ।
सन् २००८ मा जर्मनीको दोस्रो ठूलो शहर ह्याम्बर्गको समुद्री किनारमा एक विशेष ट्रेन आइपुग्यो । त्यसमा चीनबाट ल्याइएका सूचना प्रविधि सामग्रीहरूका ५० वटा कन्टेनर थिए । सत्र दिन लगाएर लगभग १० हजार किलोमिटर पार गर्दै त्यो ट्रेन ह्याम्बर्ग आइपुगेको थियो ।
चीनबाट छुटेको ट्रेनले विभिन्न देशका रेलमार्ग उपयोग गरेको थियो ।
सन् २०११ मा चीनबाट १६ दिन लगाएर आएको अर्को ट्रेन जर्मनीको डुइसबर्ग पुगेको थियो । त्यो संसारको सबभन्दा विशाल बन्दरगाह हो ।
सन् २०१३ मा त कीर्तिमान कायम गर्दै चीनबाट ह्याम्बर्गसम्म ५१ वटा कन्टेनर लिएर १५ दिनमा ट्रेन आइपुग्यो । कन्टेनर पानीजहाजलाई यो दूरी पूरा गर्न दुईगुणा बढी समय लाग्छ ।
चाइना रेलवे एक्सप्रेस पनि भनेर चिनिने ट्रान्सयुरेसिया लजिस्टिक्स जर्मनी, रुस र चीनबीचको संयुक्त परियोजना थियो । यसलाई ट्रान्सयुरेसिया एक्सप्रेस नाम दिइएको थियो । सन् २०१७ मा ट्रान्सयुरेसिया लजिस्टिक्स जर्मनीको सबभन्दा ठूलो रेलवे संस्था डोयच बाहनको शाखा बन्यो र यसलाई डीबी कार्गो युरेसिया नाम दिइयो ।
यस्तो किसिमको संरचनाको महत्त्व बढिरहेको छ र जर्मनीमा यसको सम्भाव्यताको खोजी भइरहेको छ भन्ने संकेत यसबाट पाइन्छ ।
एसिया र युरोपबीच पूर्ण विकसित रेल सञ्जालले राम्रो विकल्प दिएको छ किनकि यो पानीजहाजबाट गरिने माल ढुवानीभन्दा छिटो हुन्छ र हवाईजहाजभन्दा सस्तो पर्छ ।
विकासका महान् अवसरहरू विद्यमान छन् र वर्षौंदेखि रुसमा अत्याधुनिक प्रविधि उपयोग गरेर यातायात तीव्र गतिको बनाउने भनी कुरा उठिरहेको छ ।
भ्याकुम ट्युब उपयोग गरेर कन्टेनरहरूको गति एक हजार किलोमिटर प्रतिघन्टा पुर्याउने योजना पनि छ । यसले आवागमनको समय केही दिनमै सकिने गरी झार्नेछ, शायद एक दिनभन्दा पनि कम समयमा । हुन त कल्पनाको कुरा हो तर यस्तो प्रविधिले चीनबाट जर्मनीसम्म सामान ल्याउन जर्मनीभित्रै एक ठाउँबाट अर्को ठाउँमा चिट्ठी पठाएभन्दा छिटो हुनेछ । तर यसको निर्माण लागत विशाल हुनेछ र प्रविधि उच्चतम तहको छ कि छैन भन्ने निश्चित छैन ।
एउटा कुरा निश्चित छ । सन् २०१६ मा रसियन रेलवेजले अमेरिकाको हाइपरलूप वान नामक निजी कम्पनीसँग कुरा गरेको थियो र उसको यातायात मन्त्रालयले रुसी भूमिमा भ्याकुम ट्युब प्रविधि विकसित गर्नका लागि एक कार्यदल गठन गरेको थियो ।
रुसमा स्वतन्त्र प्राविधिक विकास गर्ने वा चीन, रुस र जर्मनीबीच यातायात प्रविधिमा थप सहकार्य गर्ने सम्भावना पनि छ ।
युरोप र एसियाबीच संरचना निर्माणसम्बन्धी विद्यमान तथा सम्भाव्य प्रमुख परियोजनालाई न्यु युरेसियन कन्टिनेन्टल ब्रिज भन्ने गरिन्छ । यिनीहरू अझ ठूलो परियोजनासँग गहिरो गरी जोडिएका छन् र त्यो हो बेल्ट यान्ड रोड इनिसिएटिभ ।
बेल्ट यान्ड रोड इनिसिएटिभ इतिहासकै सबभन्दा विशाल संरचना निर्माण परियोजना हो । यसले युरेसियाको महादेशीय यातायात रूटलाई दक्षिण एसिया तथा दक्षिणपूर्वी एसिया, अफ्रिका र अन्यत्रसँग जोड्छ ।
यसले ४ खर्बदेखि ८ खर्ब डलरसम्म लगानी गर्ने लक्ष्य लिएको छ । बीआरआईले विकासशील अर्थतन्त्र र क्षेत्रमा बढी जोड दिएको छ ।
पश्चिमी मुलुकका रेटिङ संस्थाहरूले उच्च जोखिमको क्षेत्र भनेका अनि युरोपेली संघ वा अमेरिकाबाट गम्भीर लगानी गरिने कुनै सम्भावना नरहेका राज्यमा बीआरआईका आधा जति लगानी गरिएको छ ।
अनि पश्चिम संलग्न भएको ठाउँमा नवउपनिवेशवादी दोहन वा चाँडो नाफा कमाउने काम र स्रोतको क्षयीकरण हुने गरेको छ । त्यसैले यी मुलुकहरू फरक दृष्टिकोण भएका पक्षप्रति खुला छन्, विशेषगरी पूर्वी अफ्रिका जस्ता क्षेत्र ।
नवउपनिवेशवादी निर्भरताबाट मुक्ति दिलाउने यो नयाँ विकल्पले पश्चिमी साम्राज्यवादी केन्द्रमा रहेका राजनीतिकर्मी र सञ्चारमाध्यमलाई चिन्तित तुल्याउनु स्वाभाविक हो ।
तर अफ्रिकाका मानिसलाई विकल्प उपलब्ध छ । एकातिर युरोपेली संघको खोक्रो आश्वासन अनि स्थानीय दुग्ध किसानहरूलाई विस्थापित गर्ने गरी तथा आर्थिक शरणार्थी बनाउने गरी धूलो दूधको बाढी छ । खासमा यो जनसंख्या रित्याउने कार्यक्रम हो । चिकित्सक र विशेषज्ञहरूको संख्या पहिलेदेखि नै कम थियो र ती पनि आफ्नो मुलुकबाट पलायन भइरहेका छन् ।
अर्कातर्फ चीनले संरचना क्षेत्रमा गरेको वास्तविक तथा दीर्घकालीन लगानी छ । यसमा सांस्कृतिक साम्राज्यवाद र राज्यको सामाजिक तथा राजनीतिक विकासमा हस्तक्षेप दुवै छैन जबकि पश्चिमी लगानीले मौन रूपमा यसको अपेक्षा गरिरहेका हुन्छन् । दीर्घकालीन हित हेर्ने हो भने यी मुलुकहरूले बीआरआईमा प्रवेश गर्दा राम्रो हुन्छ ।
चीनले परोपकारका लागि यो परियोजना चलाइरहेको हैन । यस्तो किसिमको दीर्घकालीन संरचना परियोजनाहरू जोखिमपूर्ण हुन्छन् तर परम्परागत लगानीभन्दा यिनको सफलताको सम्भावना बढी हुन्छ ।
चिनियाँ लगानी पाउने देशहरूले गुमाउनुपर्ने धेरै केही छैन । यो निर्भरता बढाउने अर्को परोपकार उद्योग हैन अनि अन्तर्राष्ट्रिय मुद्रा कोषले थप गरीबी बढाउने गरी दिने ऋण पनि हैन । बीआरआईले नयाँ सडक, रेलमार्ग, बन्दरगाह र ऊर्जा केन्द्रहरू निर्माण गर्छ ।
विकासशील देशहरूले मात्र यी लगानीबाट फाइदा उठाउँछनु भन्ने हैन । युरोपका धेरै मुलुक र विशेषगरी जर्मनीलाई यसले पश्चिमसँगको एकतर्फी साझेदारीको विकल्पका रूपमा पूर्वतर्फ जान प्रेरित गरेको छ ।
रुसबाट ऊर्जा आपूर्तिमा समस्या आइरहेको सन्दर्भमा यसले चीन तथा रुससँग थप मजबूत आर्थिक सहकार्यमार्फत रोजगारी सिर्जना गर्न र समृद्धि ल्याउन अवसर दिएको छ ।
सबभन्दा ठूलो कुरा त यसले पूर्वका उदाउँदा अर्थतन्त्रसँग मिलेर दीर्घकालीन वृद्धिको अवसर दिलाउनेछ । नवउादरवादी मूल्यामान्यता नलादिएको, सामाजिक कल्याणमा खर्चकटौती गर्न वा साम्राज्यवादी युद्धहरूमा सहभागी हुन बाध्य नपारिएको स्थितिका लागि यो राम्रो विकल्प हो ।
बेल्ड यान्ड रोड इनिसिएटिभ आर्थिक परियोजना मात्र हैन, यसले शान्ति, सार्वभौमसत्ता र समृद्धिमा आधारित बहुध्रुवीय विश्व बनाउनका लागि सहायता गर्छ ।
आरटीमा प्रकाशित आर्टर लेइयरको विश्लेषण