
काठमाडौं २ जेठ –उत्सुकताका साथ हेरिएको गोरखाको पालुङ्टार नगरपालिकामा नयाँ शक्ति नेपालले फराकिलो अग्रता कायम गरेको छ । नगरपालिकाको मेयर र उपमेयर दुवैमा नयाँ शक्तिले फराकिलो अग्रता लिएको छ ।
नगरपालिकाका प्रमुख निर्वाचन अधिकृत सुरेन्द्रराज काफ्लेका अनुसार पछिल्लो मतपरिणाम अनुसार नयाँ शक्तिका मेयरका उम्मेदवार अशोक देवकोटाले १ हजार ३ सय ५४ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार विवस चिन्तनले ८ सय ५७ मत प्राप्त गरेका छन् ।
मंगलवार दिउसोको नगरपालिकाको पछिल्लो मतगणना परिणामअनुसार कांग्रेसका मेयरका प्रत्यासी दीपकबाबु कँडेलले ७ सय ४६ मत ल्याएका छन् । नेकपा एमालेका उम्मेदवार जुद्वविलास भण्डारीले भने २ सय ४ मत ल्याएका छन् ।
त्यस्तै, नगरपालिकाको उपमेयरमा पनि नयाँ शक्तिले नै फराकिलो अग्रता कायम गरेको छ । उपमेयरमा नयाँ शक्तिका उम्मेदवार देवी गुरुङले १ हजार २ सय ५७ मत ल्याएकी छिन् । माओवादी केन्द्रकी उम्मेदवार पम्फा बसेलले ९ सय २२, नेपाली कांग्रेसकी उम्मेदवार चेतकुमारी श्रेष्ठले ६ सय ८७ र एमालेकी सृजना रेग्मीले १ सय ८७ मत ल्याएकी छिन् ।
पालुङटार नगरपालिकाको वडा नम्बर १ मा नयाँ शक्तिको प्यानलै विजयी भइसकेको छ । भने वडा नम्बर २ मा वडा अध्यक्ष र एक सदस्यबाहेक बाँकीमा नयाँ शक्तिले जित हासिल गरेको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईको गृहनगर पालुङ्टारलाई उक्त दलले विशेष प्राथमिकता दिँदै आएको छ ।